धवलागिरी गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट (भिडियो सहित)

विकल्प न्यूज/बेनी
असार १० गते ।म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । कुल बजेटको २९ करोड ८६ लाख ३० हजार चालुतर्फ र १२ करोड ६५ लाख ५२ हजार ५८० पुँजीगततर्फ विनियोजन गरिएको छ । सामाजिक सुरक्षा भत्ता बापतको ६ करोड ९४ लाख ५० हजार अनुमान गरिएको छ ।कुल बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ७ करोड ४९ लाख, संघिय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँड रु ८ करोड २१ लाख ६३ हजार ५ सय ८०, सशर्त अनुदान रु १६ करोड ९३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १ करोड २२ लाख ३३ हजार, प्रदेश राजश्व बाँडफाँट रु २१ लाख ३६ हजार , आन्तरिक राजश्वबाट प्राप्त हुने रु २६ लाख र विशेष र समपुरक अनुदान अन्र्तगत रु १ करोड ५० लाख समावेश गरिएको छ ।गाउँसभामा अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालद्धारा प्रस्तुत विनियोजन र कार्यपालिका सदसय देउप्रसाद छन्त्यालद्धारा प्रस्तुत आर्थिक विद्येयक समेत संशोधन सहित पारिद भएको छ । 

गाउँपालिकाले बजेटमा कोरोना नियन्त्रण र रोकथाम संगै सडक लगायतका पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन लगायतको क्षेत्रलाई प्राथमिकताका साथ समावेश गरिएको छ । गाउँपालिकाले ‘धवलागिरी गाउँपालिकाको आधार, कृषि, पर्यटन, जलस्रोत र भौतिक पूर्वाधार’ भन्ने नारालाई अघि सारेको छ ।

सभालाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो । नयाँ आर्थिक बर्षको बजेट तथा कार्यक्रमलाई प्रभाबकारी कार्यान्वयनको लागि सुरुवातदेखि नै जुट्नुपर्नेमा गाउँसभा सदस्यहरुले जोड दिएका थिए ।

https://www.youtube.com/watch?v=jsakB2ZG3c0