अन्नपूर्णका ८ जना कृषकलाई उन्नतजातका बोका वितरण

अमित विश्वकर्मा/ बेनी
जेठ २२ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ ओटा वोयर जातको बोका वितरण गरेको छ ।
विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर पुनले आठ वटै वडाका एक एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो ।
आर्थिक वर्ष २०७६÷७७ को अनुदान कार्यक्रम अन्तर्गत रु ३ लाख ६० हजारको उन्नत जातको बोका खबराबाट खरिद गरी वितरण गरिएको हो ।
वडा समितिले निर्णय गरी छनोट गरे अनुसार गाउँपालिका र घरेलुमा दर्ता गरिएका बाख्राफार्महरुलाई अघिल्लो वर्षको नदोहोरिने गरी उन्नत जातको बोका वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल व्यवसायिक रुपमा बाख्रा पालेका कृषकलाई आफ्ना बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउनका लागि निशूल्करुपमा बोका वितरण गरिएको हो ।

निशूल्क बोका पाउनेहरुमा वडा नं १ का बेगबहादुर पुर्जा,२ का कमल पुर्जा,वडा नं ३ का नगेन्द्र पुर्जा,४ का तुलाराम बूढा,५का जसबहादुर तिलिजा,६का टेकबहादुर बरुवाल,७ का बालकुमार पुर्जा र वडा नं ८ का हेमन्त तिलिजा रहनुभएको पशु सेवा शाखाका संयोजक प्रकाश घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका व्यवसायिक बाख्रा पालनको दृष्टिकोणले अत्यन्त सम्भावना युक्त क्षेत्र भएकोले किसानको आयस्रोत वृद्धिका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष गर्वुजाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।