थप १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं – 

नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएका देशका विभिन्न जिल्लाका छन्। आज थप भएका १७० सहित नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या २०६ पुगेको डा देवकोटाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता देवकोटाले नेपालमा कोरोना संक्रमण देखिएका थप १ जनाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

भारतबाट नेपाल आउने क्रममा ती व्यक्तको मृत्यु भएको हो। नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो। स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए।

यो सहित नेपालमा कोरोना भइरसको संक्रमण देखिएकाको मृत्युको संख्या ६ पुगेको छ।