विदेशमा रोकियो डेढ सय कामदारको शव, ५८ जनाको भयो दाहसंस्कार

११ जेठ , काठमाडौं ।

विदेशमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका १४९ जना भन्दा बढी नेपाली श्रमिकको शव विदेशमै अलपत्र परेको छ । आफन्तको मृत्यु भएर पनि शव नआएपछि मृतकका परिवार थप पीडामा छन् ।

विश्वव्यापी कोरोना महामारीका कारण देशमा बन्दाबन्दीमा छ । अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ ।

यस्तो बेला नेपाल र्फकन रोइकराइ गरिरहेका श्रमिक त फर्कन पाएका छैनन् भने विदेशमा पसिना बगाउँदा-बगाउँदै मृत्युवरण गर्न पुगेकाहरूको आफ्नै भूमिमा सद्गतको मौका पाएका छैनन् ।

नेपालमा दैनिक दुई श्रमिकको शव भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ । र पनि, १४९ भन्दा बढी रेमिट्यान्सकर्मीले स्वदेशमै जल्ने सौभाग्य पाउन सकेका छैनन् । नेपाल सरकारले तिनको अस्तु मातृभूमिमा विसर्जन गर्ने प्रबन्ध गर्न सकेको छैन ।

यो अवधिमा कुल २०७ जनको शव व्यवस्थापन गर्नुपर्नेमध्ये ५८ जनको शब विदेशमै अन्तिम संस्कार गरिएको छ । १४९ जना मृत कामदारको पविारले भने दाहसंस्कार नेपालमै ल्याएर गर्ने इच्छा व्यक्त गरेका छन् ।online khabar