प्रदेश १ मा कोरोना अस्पताल थपिँदै, सिद्धबाबाको आश्रम पनि प्रयोग गरिने

११ जेठ, विराटनगर ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ सरकारले अस्पतालको संख्या थप्ने तयारी सुरु भएको छ । यसैक्रममा विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी (सिद्धबाबा)ले प्रयोग गर्दै आएको चतरास्थित जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको अतिथी गृहमा पनि कोरोना अस्थायी अस्पताल बनाइने भएको छ ।

बलात्कार आरोपमा गिरी पक्राउ परेयता सुनसान बनेको उनको आश्रमको अतिथी गृहमा २ सय शय्याको अस्थायी अस्पताल बनाउने निर्णय प्रदेश १ सरकारको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिले गरेको हो । गिरी हाल पुर्पक्षका लागि थुनामा छन् ।

कोरोना संक्रमित बढ्न थालेपछि झापा, सुनसरी र मोरङमा अस्पताल थप्ने तयारी सुरु भइसकेको छ । विराटनगरमा थप १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामानन्दाचार्य सेवापीठको भवन, नेपाली सेनाको इटहरी ब्यारेकमा गरी जम्मा ८ सय ५० बेड राख्ने तयारी सरकारले गरेको छ ।

प्रदेश १ मा हाल सुनसरीको धरान र मोरङको विराटनगरमा कोरोना संक्रमितको उपचार गर्ने अस्पताल छ । विराटनगरको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ५० शय्या र धरानमा एक सय शय्या छ । धरानको अस्पताल आइतबारबाट सञ्चालन आउँदैछ । तर विराटनगरमा संक्रमित नअटेपछि झापा र सुनसरीका २७ जना संक्रमित धरानमा राखिएको छ ।

लेभल ३ को (गम्भिर प्रकृतिको उपचार गर्ने) अस्पताल धरानमा राखिएकाले २७ जनालाई केही दिन भित्र गोठगाउँमा निर्मित कोरोना उपचार केन्द्रमा सार्ने प्रदेश सरकारको तयारी छ । online khabar