म्याग्दीका सहकारीले लकडाउन अवधिमा कर्जाको ब्याजमा १० प्रतिशत छुट

विकल्प न्यूज/बेनी
जेठ ७ गते ।
म्याग्दीका केही सहकारी संस्थाले लकडाउन अवधिभरको मासिक ब्याजदरमा १० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । कोरोना संक्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दीका कारण सेयर सदस्यमा परेको असरलाई मध्यनजर गरी कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने जनाएका छन् ।
कोभिड–१९ बाट सेयर सदस्यलाई परेको असरलाई मध्यनजर गरी बेनी नगरपालिका–७, विरेन्द्रचोकमा अवस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लकडाउन अवधिभर कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले जानकारी दिनुभयो । ‘हर्जना छुट सहितको जानकारी समेत पठाइसकिएको छ’ सुबेदलीले भन्नुभयो ।

लामो लकडाउनले सेयर सदस्यको आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा परेको असर न्यूनीकरण गर्न उक्त सुविधा दिइएको बताउँदै सहकारीले चालु आवका केही संस्थागत गतिविधिहरुको बजेटलाई समेत ब्याजदर सहुलियतमै खर्च गर्नेै जनाएको छ।

बेनी बचत तथा ऋण सहकारी संस्थाले ब्याजमा १० प्रतिशत छुट गरेको प्रबन्धक सञ्जन शाक्यले बताउनुभयो।‘अन्य स्ुविधालाई पनि उपलब्ध गराएका छौ,‘सेयर सदस्यको मर्का बुझ्ने बेला यही हो’ शाक्य भन्नुयो । उहाँका अनुसार सहकारीले कर्जामा ब्याजदर बाहेक हर्जना छुट, लकडाउन अवधिको मासिक किस्तालाई असार मसान्तसम्म भुक्तानी गर्न मिल्ने सुविधा समेत उपलब्ध गराइएको बताउनुभयो ।

लकडाउन थपिएमा किस्ता सहितका अन्य सेवाका बारेमा अर्को जानकारी गराउने बेनी बचतले जनाएको छ ।त्यस्तै न्यू धवलागिरी बचत तथा ऋण सहकारी संस्थाले नेपाल सरकारले तोकेको अन्य छुटहरू समेत दिने सार्वजनिक गरेको सहकारीका प्रबन्धक बसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार चैत्रदेखि असारसम्म उक्त छुटलाई निरन्तरता दिने जनाईएको छ ।कोरोनाले ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न सहकारीले विभिन्न माध्यमबाट सहकार्य गरेको प्रबन्धक श्रेष्ठको भनाई छ । यसैबीच जिल्ला सहकारी संघ म्याग्दीले कोभिड–१९ महामारीबाट सम्पूर्ण ऋणीहरुलाई परेको असरको मूल्यांकन गर्न आवश्यक रहेको बताउँदै छुट गरेका सहकारीलाई धन्यवाद दिदैं आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

संघका अध्यक्ष दिपक कार्कीले यो असाधारण समयमा सबै सहकारीले सेवाग्राहीलाई राहत दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीले कोरोनाले अस्तब्यस्त भएको आर्थिक गतिविधिलाई आ–आफ्नो हिसाबले योगदान दिनुपर्नेमा जोड दिनुभयो । जिल्लामा कारोबार गर्ने सहकारीले छुट सहितको सेवा दिइरहेको विवरण संकलन गर्ने सहकारी संघले जनाएको छ ।