रघुगंगा गाउँपालिकाका कर्मचारी र शिक्षकद्धारा कोरोना कोषमा ९ लाख सहयोग

विकल्प न्यूज/बेनी
जेठ २ गते । 

म्याग्दीको रघुगंगा गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषमा ९ लाख रुपैयाँ सहयोग गरेका छन् ।
गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले स्वतस्फुर्त रुपमा एक दिन देखि पाँच दिन सम्मको पारिश्रमिक कोरोना कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

केही दिन अघि गाउँकार्यपालिकाको कार्यालय मौवाफाँटमा बसेको कर्मचारीहरुको वैठकले अधिकृत स्तरका कर्मचारीको पाँच दिन बराबरको पारिश्रमिक,अधिकृत भन्दा तलका कर्मचारीको तिन दिनको र ज्यालादारी कर्मचारीको एक दिन बराबरको पारिश्रमिक कोरोना कोषमा सहयोग गर्ने निर्णय भएबमोजिम कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

कोरोना रोकथाम,नियन्त्रण र राहत वितरणमा कर्मचारीहरुले पनि सहयोग गर्नुपर्ने दायित्व भएकाले स्वतस्फुर्त रुपमा कार्यरत कर्मचारी र शिक्षकहरुले कोषमा सहयोग गरेको गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो ।

गाउँपालिकाले यस अघि ७१ लख बराबरको कोष स्थापना गरेको थियो । उक्त कोषमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चारलाख रुपैयाँ बराबरको खाद्यन्न सहयोग गर्नुभएको छ ।

लकडाउनका कारण प्रभावित भएका मजदुर तथा गरिब विपन्न पाँचसय ४४ घर परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुवेदी बताउनुभयो ।