ताजा समाचार:
Search

बेनी नगरपालिका–८ का विपन्न र श्रमीक ६३ परिवारलाई राहत वितरण

विकल्प न्यूज/बेनी
चैत २२ गते ।    

शनिवार बेनी नगरपालिका–८ को वडा कार्यालयले ६३ परिवारलाई राहत वितरण गरेको छ । नगरपालिका अन्र्तगत रहेका वडा कार्यालय मार्फत हरेक वडामा रहेका गरिब, विपन्न र मजदुर परिवारलाई लकडाउनको समयमा खाद्यान्नको अभाब हुन नदिन राहत वितरण सुरु गरिएको हो ।

वडा कार्यालयमा निवेदन संकलन गरेर वडा समिति, स्थानीय राजनीतिक दल, उद्योग बाणिज्य संघ र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागीतामा निर्णय गरेर वास्तविक व्यक्तिको पहिचान गरि राहत वितरण सुरु गरिएको बेनपा– ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।
म्याग्दीको बेनी नगरपालिकाले कोरोनाको कारण समस्यामा परेकाहरुलाई राहत वितरण सुरु गरेको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरिएको हो ।
उहाँका अनुसार, दैनिक ज्याला मजदुरी गर्ने, असाह्य, र विपन्नलाई पहिचान गरि राहत दिन थालिएको छ । शनिवार वडाभित्रका ६३ परिवारलाई राहत वितरण गरिएको र अन्य बाँकी रहेकाहरुको पहिचान गर्ने काम भैरहेको वडा सदस्य हिमबहादुर भण्डारीले बताउनुभयो । बेनपा–८ को वडा कार्यालयका जनप्रतिनिधिहरुले बेनीको गणेशटोल, न्युरोड र कालिपुलमा पुगेर लक्षित व्यक्तिलाई राहत वितरण गरेका हुन् ।

वडा कार्यालयले २ जना सम्मका परिवारलाई आधा प्याकेज र त्यहाँभन्दा माथि परिवार सदस्य रहेकालाई प्रतिपरिवार २५ केजी चामल, ३ केजी दाल, २ केजी नुन , २ केजी चिनी, ४ वटा सावुन र २ लिटर खानेतेलको राहत प्याकेज दिएको छ । परिवार सदस्यको आधारमा ५७ परिवारलाई पुरा र ६ परिवारलाई आधा प्याकेजको राहत दिईएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालय मार्फत वितरण भएको राहतले ठुलो सहयोग पुगेको बेनपा–८ मा ज्यालामजदुरी गरि जिविकोपार्जन गर्दै आउनुभएकी मिना थापा मगरले बताउनुभयो । ‘‘ लकडाउन छ, काम गर्न पाईएको छैन्, कोरोनाको त्रास पनि छ, कोठामा खाने खाद्यान्न सकिएको छ, अहिले वडा कार्यालय मार्फत राहत पाएका छौँ, यसले धेरै हदसम्म सहज बनाएको छ’’–उहाँले भन्नुभयो ।