गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुइलाख ५१ हजार घरभाडा छुटको घोषणा

विकल्प न्यूज/बेनी
चैत २२ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा बापतको रु २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

अध्यक्ष भण्डारीको म्याग्दी सदरमुकाम बेनीमा रहेका २ , पर्वतको जलजला गाउँपालिकाको बगरफाँटमा रहेका २ र काठमाण्डौमा रहेको १ घरमा व्यापार ब्यवसाय गर्दै आएका र कोठा भाडामा बस्दै आएकाहरुलाई एक महिनाको भाडा छुट दिईएको हो । कालिपुल नजीकै रारा हटोपार्टसलाई भाडामा लगाएको आफ्नो जग्गाको समेत एक महिनाको घाडा नलिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

‘‘ लकडाउनले व्यापार ब्यवसाय बन्द भएका छन्, कोठामा बसेकाहरु पनि थप समस्यामा परेका छन्, यस्तो अबस्थामा भाडा लिनु न्यायोचित नहुने देखेर भाडा मिनाहा गरेको हुँ, यसबाट थोरै भएपनि भाडामा बस्नेहरुलाई राहत हुने अपेक्षा गरेको छु’’–अध्यक्ष भण्डारीले भन्नुभयो ।
अध्यक्ष भण्डारीले कोरोना लकडाउनको कारण समस्यामा परेका रघुगंगा गाउँपालिकाका बासिन्दाहरुको लागि व्यक्तिगत रुपमा रु ४ लाख बराबरको खाद्यान्न वितरण गर्न सुरु गरेको बताउनुभयो । गाउँपालिकाका सबै वडामा गरिब विपन्न र ज्यालामजदुरी गरि खाने बर्गलाई लक्षित गरि हरेक वडामा पुगेर खाद्यान्न वितरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथामको लागि रु ३० लाख बजेट समेत विनियोजन गरेको छ । तत्कालिन प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएपछि अहिले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिनको अबस्थामा रहेको कारण आर्थिक कारोबारमा समस्या भएकाले प्रमुख जिल्ला अधिकारी र संघिय मामिला मन्त्रालयमा ध्यानकर्षण गराएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृतको अभाबमा गण्डकी प्रदेश सरकार र जिल्ला समन्वय समितिले पठाएको राहत रकमलाई परिचालन गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ । सरकारले कोरोनाको कारण मुलुकलाई लकडाउन गर्दा व्यापार ब्यवसाय र भाडामा बसोबास गर्दै आएकाहरुको समस्यालाई मध्यनजर गर्दै घरधनीहरुलाई भाडा छुट दिन आह्वान गरेको छ ।

म्याग्दीमा यस अघि निर्माण व्यवसायिसंघ म्याग्दीका अध्यक्ष नारायण जिसीले बेनी र काठमाण्डौमा रहेका घरमा भाडामा बस्दै आएकाहरुको एक महिनाको रु १ लाख ३५ हजार घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभएको छ ।