धवलागिरिमा काेराेना राेकथाम र लकडाउन कार्यन्वयनका लागि युवा परिचालन

विकल्प न्युज / बेनी
बेनी, १८ चैत ।

म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ ।

२२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मुनामा कोरोना रोकथाम र लकडाउन कार्यान्वयनमा उनिहरुको भूमिकाका विषयमा प्रशिक्षण दिइएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

गाउपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष छन्त्याल, प्रशासकीय अधिकृत गोविन्द सुनार, योजना अधिकृत कृष्ण सुवेदी, स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेल र ताकम प्रहरी चौकीका प्रमुखले प्रशिक्षण दिनुभएको थियो ।

उनिहरुलाई कर सहित दैनिक एक हजार रुपैयाँ ज्याला समेत दिइने भएको छ । मल्कवाङ बाहेकका युवाहरुलाई मंगलबारदेखिनै नियुक्ति दिएर कार्यक्षेत्रमा परिचालन गरिएको गाउपालिकाले जनाएको छ ।

सरकारले चैत २६ गतेसम्मका लागि थप गरेको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न स्वमसेवकहरुलाई नाकाहरुमा खटाउने भएको छ । ताकम, ढोरपाटन, मराङ र मल्कवाङका नाकामा स्वमसेवक खटाइने भएको छ ।

गाउपालिकाभित्र आवत जावत बन्द, भेला र जमघट रोक्नुका साथै उनिहरुले समुदायमा कोरोना फैलने कारण, लक्ष्यण र बच्ने उपायको विषयमा सचेतना फैलाउन जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्ने भएका छन् ।

धवलागिरीमा अत्यावश्यक कामले एक वडाबाट अर्को वडामा जानका लागि वडा अध्यक्षको सिफारिस र अनुमति लिनुपर्ने निर्णय भएको छ । बाहिरबाट आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

७ वटा वडामा पाँच पाँच शैया क्षमताको मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउने निर्णय भएको छ । चैत १ गतेदेखि यता विदेशबाट आएका दुई जनालाई हालसम्म घरमै एकान्तबास बस्न लगाइएको छ ।

आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास लाख रुपैयाँ बिनियोजन गरेको थियो । युवा समूह परिचालन गर्न गाउपालिकाका अध्यक्ष थमसरा पुनको संयोजकत्वमा समिति गठन भएको छ ।

गाउपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न र अशक्तहरुलाई वडा कार्यालय मार्फत आवेदन फारम भर्न आग्रह गरेको छ । बस्ती स्तरमा कटुवाल र माइकीङ गरेर कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिएको छ ।