युवा व्यवसायी जिसीद्धारा चैत महिनाको भाडा एकलाख ३५ हजार छुटको घोषणा

विकल्प न्यूज/बेनी
चैत १७ गते ।

म्याग्दीका युवा व्यवसायी तथा समाजसेवी नारायण जिसीले चैत महिनाको भाडा वापतको एकलाख ३५ हजार रुपैयाँ मिनाहा गर्ने घोषणा गर्नुभएको छ ।

सरकारले हिजो मात्रै घरधनीहरुलाई चैत महिनाको भाडा छुट दिन सवै घरभेटीहरुलाई अनुरोध गरेको थियो । सरकारको अनुरोधलाई स्वागत गर्दै जिसीले घर भाडा वापतको उक्त रकम मिनाहा गर्ने हुनुभएको हो ।

बेनी नगरपालिका ६ बगुवाखोला निवासी जिसी र उहाँको पत्नी विमला जिसीले काठमाण्डौं र बेनीमा रहेको घरमा भाडामा वस्नेहरुको भाडा मिनाहा गर्नुएको हो ।

काठमाण्डौं स्थित घरको चैत महिनाको भाडा एकलाख र बेनीमा रहेको घरको ३५ हजार गरी एकलाख ३५ हजार रपैयाँ भाडा मिनाहा गरेको जिसीले बताउनुभयो । सरकारले पनि अनुरोध गरेको छ जिसीले भन्नुभयो, ‘हातेमालो गरेर नै यो विपत्तिको सामाना गर्नुपर्दछ ।’ समस्यामा परेकालाई सहयोग गर्नुपर्दछ उहाँले भन्नुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण मुलुकनै ठप्प भएका बेला थोरै भएपनि भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा छुट दिने घोषणा गरेको जिसीले बताउनुभयो । संकटको अवस्थामा एकले अर्कोलाई सहयोग गर्नुपर्दछ जिसीले भन्नुभयो, ‘विपत्तिको बेला सवैले हातोमालो गर्नुपर्दछ ।’

यस अघि जिसीले बेनी नगरपालिका ६ का गरिब तथा विपन्नहरुलाई वडाको सहकार्यमा एकलाख बराबरको मास्क र हात धुने साबुन वितरण गर्नुभएको थियो ।
बेनी नगरपालिका,मंगलाको वावियाचौर र दरवाङमा जिसीले व्यक्तिगत खर्चमा क्लोरिन छर्किने काम समेत गर्नुभएको छ । सफल व्यवसायीका रुपमा पहिचान बनाउनुभएका जिसी सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ ।