धवलागिरिमा काेराेना राेकथाम तथा उपचार काेषमा पचास लाख

विकल्प न्युज/ बेनी
बेनी, १६ चैत ।

म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ ।

गाउपालिकाको मुना स्थित कार्यालयमा आइतबार बसेको कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि परिचालन गर्न पचास लाख रुपैयाँ बिनियोजन गर्ने निर्णय गरेको हो ।

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई सघाउनका लागि स्वयमसेवक परिचालन गर्न गाउपालिकाका अध्यक्ष थमसरा पुनको संयोजकत्वमा समिति गठन भएको छ । २० जना स्वमसेवक छनौट गरेर लकडाउन कार्यान्वयनमा परिचालन गरिने उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

उनिहरुलाई कर सहित दैनिक एक हजार रुपैयाँ ज्याला समेत दिइने निर्णय गरेको छ । सरकारले चैत २६ गतेसम्मका लागि थप गरेको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न स्वमसेवकहरुलाई नाकाहरुमा खटाउने भएको छ । ताकम, ढोरपाटन, मराङ र मल्कवाङका नाकामा स्वमसेवक खटाइने भएको छ ।

स्वयमसेवकहरुलाई प्रहरीबाट तालिम र प्रशिक्षण दिएर खटाइने भएको छ । गाउपालिकाभित्र आवत जावत बन्दलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ । अत्यावश्यक कामले एक वडाबाट अर्को वडामा जानका लागि वडा अध्यक्षको सिफारिस र अनुमति लिनुपर्ने निर्णय भएको छ ।

बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । ७ वटा वडामा पाँच पाँच शैया क्षमताको मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउने निर्णय भएको छ । चैत १ गतेदेखि यता विदेशबाट आएका दुई जनालाई हालसम्म घरमै एकान्तबास बस्न लगाइएको छ ।

चैतै दशैको अवसरमा कोतघरहरुमा मेला सञ्चालन गर्न नदिने निर्णय समेत भएको छ ।

उपाध्यक्ष छन्त्यालको नेतृत्वमा प्रशासकीय अधिकृत गोविन्द सुनार र सामाजिक विकास समितिका संयोजक राजाराम सुवेदी सदस्य रहेको लकडाउनका कारण प्रभावित हुने तथा विदेशबाट आएकाको लगत संकलन समिति बनाइएको छ ।

बस्ती स्तरमा कटुवाल र माइकीङ गरेर कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने गाउपालिकाले जनाएको छ ।

कोरोना रोकथामका लागि अन्नपूर्ण गाउपालिकाले सत्तरी लाख, रघुगंगा गाउपालिकाले चौतीस लाख, बेनी नगरपालिकाले पचास लाख र मालिका गाउपालिकाले बीस लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेका छन् ।