समस्यामा परेका विपन्नलाई जिसस म्याग्दीले खाद्यान्न उपलब्ध गराउने

विकल्प न्युज / बेनी
बेनी, १४ चैत ।

जिल्ला समन्वय समिति, म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुर बर्गलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ ।

जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा शुक्रबार बेनीमा बसेको समितिको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा रोजगारी गुमेपछि बिहान बेलुकी हात मुख जोर्न नसक्नेहरुलाई खाद्यान्नको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बेनी नगरपालिका, धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउपालिकाका विपन्नको खाद्यान्न ब्यवस्थापनका लागि जिससको कोषबाट दुई÷दुई लाख रुपैयाँका दरले एकमुष्ठ बाह् लाख रुपैया बिनियोजन गरेको जिसस प्रमुख केसीले बताउनुभयो ।

उहाँका अनुसार बेनी अस्पतालमा कोरोनाका बिरामीको उपचार, क्वारेन्टाइन र आइसोलेसनका लागि आवश्यक औजार, औषधी, सामग्री खरिद तथा व्यवस्थापन गर्न तीन लाख रुपैयाँ बिनियोजन भएको छ ।

‘लकडाउन लम्बिदै जाँदा दैनिक श्रम गरेर परिवार पाल्ने मजदुर वर्गलाई पर्ने समस्या सम्बोधन गर्न बजेट बिनियोजन गरिएको हो,’ जिसस प्रमुख केसीले भन्नुभयो ‘जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा समस्यामा परेका घरधुरीको लगत संकलन गरेर चामल, दाल, खाजा र तरकारी उपलब्ध गराउने व्यवस्था मिलाउछौ ।’

विपन्नको खाद्यान्नको व्यवस्थापनका लागि यसअघि निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी र उहाँका भाई किसान जिसीले एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । स्थानीय तहहरुले लकडाउनबाट प्रभावित र जोखिममा परेका विपन्न, अशक्त, असाहयहरुको लगत संकलन सुरु गरेका छन् ।

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले पचास लाख, रघुगंगा गाउपालिकाले तीस लाख, मालिका गाउपालिकाले बीस लाख र धवलागिरी गाउपालिकाले पाँच लाख बिनियोजन गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन स्थापना र व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ । बेनी अस्पतालमै आइसोलेशन निर्माण गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।