बेनी नगरपालिकामा काेराेना राेकथामका लागि पचास लाखकाे काेष

विकल्प न्युज / बेनी
बेनी, १४ चैत ।

म्याग्दीको बेनी नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि पचास लाखको कोष बनाएको छ ।

बेनीमा शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दैवि प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास लाख रुपैया थप गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो ।

सो कोषको रकमबाट बेनी अस्पताललाई क्वारेन्टाइन, आइसोलेशन व्यवस्थान, उपचार र सुरक्षा सामग्रीको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

नगरबासीलाई कोरोनाका कारण उत्पन्न समस्या सम्बोधनका लागि नगरप्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा क्विक रेस्पोन्स टिम गठन भएको छ । सो टिममा नगर उपप्रमुख सञ्जु बरुवाल, प्रशासकीय अधिकृत शर्मा, कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइली र कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा रहनुभएको छ ।

यसैगरी समस्यामा परेकाहरुको नाममा जथाभावी राहत संकलन गर्ने कार्य रोक्न र लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध गरेको छ । राहत वितरण गर्न धेरै जना जम्मा हुदा लकडाउनको उल्लङ्कन हुने भएकाले वडा कार्यालयसंगको समन्वयमा मात्र राहत व्यवस्थापन गरिने प्रवत्ता बराइलीले बताउनुभयो ।

कोरोनाका कारणले नगर क्षेत्रका बिरामीले एम्बुलेन्स नपाएको अवस्थामा नगरपालिकाकै गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने निर्णय समेत भएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

कोरोना रोकथामका लागि वडा स्तरमा लकडाउनको पूर्ण कार्यान्वयन, सचेतना अभिवृद्धी र विदेशबाट हालै गाउमा आएकाहरुको विवरण संकलन भैरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रै रहेको बेनी अस्पताल र जिल्ला स्थित सरोकारवालाहरुसंग समन्वय गरेर कोरोना रोकथामको तयारी गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

कोरोना रोकथाम, व्यवस्थापन र रोकथामका लागि म्याग्दीको रघुगंगा गाउपालिकाले तीस लाख, मालिका गाउपालिकाले बीस लाख र धवलागिरी गाउपालिकाले पाँच लाख रुपैयाँको आकस्मिक कोष बनाएका छन् ।