ताजा समाचार:
Search

काेराेना राेकथामका लागि रघुगंगामा तीस लाखकाे काेष स्थापना

विकल्प न्युज / बेनि
बेनी, १३ चैत ।

म्याग्दीको रघुगंगा गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि तीस लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ ।

गाउपालिकाको केन्द्र मौवाफाँटमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न तीस लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो ।

सो कोषमा अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत रुपमा थप चार लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गर्नुभएको गाउपालिकाका नायव सुब्बा दयाराम पौडेलले जानकारी दिनुभयो ।

रघुगंगा गाउपालिकाका ८ वटै वडामा पाँच÷पाँच बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिने भएको छ ।

स्वास्थ्यकर्मीका लागि सबै वडामा पाँच÷पाँच सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) आइसकेको र शुक्रबारसम्म उपलब्ध गराइने पौडेलले जानकारी दिनुभयो ।

विदेशबाट पछिल्लो एक महिनायता आएकहरुको विवरण र अवस्था संकलन गर्न शिक्षक, महिला स्वास्थ्य स्वमसेविका, जनप्रतिनिधि र कर्मचारी परिचालन गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

पहिलो चरणमा सबै वडा र बस्तीमा कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिसकिएको छ ।