ताजा समाचार:
Search

बेनी अस्पतालका डाक्टरहरुको सुझाव ः सावधानी अपनाउनुहोस कोरोना भाइरसबाट बच्नुहोस्

बेनी अस्पतालका डाक्टर मनोज घिमिरे र प्रयुष अर्याल 

विकल्प न्यूज/बेनी
चैत १३ गते ।

चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस यतिखेर विश्वभरी फैलिएको छ । कोरोना भाइरस संक्रमितबाट विश्वका विभिन्न मुलुकहरुमा गरी झन्डै १८ हजार भन्दा वढी मानिसहरुको मृत्यु भइसकेको छ । चीनमा नियन्त्रणमा आएपनि युरोप लगायतका मुलुकहरुमा कोरोना भाइरसको सन्त्रास फैलिएको छ । युरोपका मुलुकहरु पछिल्लो समय कोरोना भाइरसका कारण आक्रान्त बनेका छन् ।

इटाली यसबाट सवैभन्दा बढी प्रभावित बनेको छ । इटालीमा झन्डै ६ भन्दा वढीको मृत्यु भइसकेको छ । हाम्रो छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसका संक्रमितहरु भेटिन थालेका छन् ।

अहिलेसम्म नेपालमा कोरोना भाइरसका संक्रमितहरु भेटिएका छैनन् । तर यसबाट बच्नका लागि उच्च सर्तकता भने आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । कोरोना भाइरसबाट बच्ने आधार भनेकै व्यक्तिगत सावधानी भएको स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । सरसफाई र उच्च सर्तकता अपनाउन सकेमा कोरोना भाइरसबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

यसको प्रकोपलाई नियन्त्रण गर्न सरकारले चालेका कदमहरुलाई सवै नागरिकहरुले पालना गर्न समेत चिकित्सकहरुले सर्वसाधारणहरुमा अनुरोध गरेका छन् । सरकारले कोरोना भाइरसबाट बच्नका लागि अत्यवश्यक सेवा वाहेक अन्य सेवाहरु बन्द गरेको छ । सार्वजनिक यातायात देखि मानिसहरुको भीडभाड हुने स्थलहरुलाई पूर्णरुपमा बन्द गरेको छ ।

यसै विच कोरोना भाइरसको संक्रमणबाट जोगिन म्याग्दीमा पनि उच्च सर्तकर्ता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय लगायत विभिन्न संघसस्थाहरुले कोरोना भाइरसको जाखिमबाट जोगिन व्यक्तिगत सरसफाईलाई ध्यान दिन अनुरोध गरेका छन् । जिल्ला स्थित सरकारी कार्यालयहरुले अत्यवश्यक सेवा वाहेक अन्य सेवाहरु बन्द गर्ने भएका छन् ।

कोरोना संक्रमित हुनबाट बच्नका लागि व्यक्तिगत सर्तकता अपनाउन चिकित्सकहरु जोड दिएका छन् । चिकित्सकहरुले व्यक्तिगत रुपमा सरसफाई गर्नुका साथै भिडभाड हुने स्थानहरुमा सकभर नजान सर्वसाधरणहरुलाई सुझाए छन् ।

बेनी अस्पतालमा कार्यरत डाक्टर मनोज घिमिरेले सरकारले ल्याएको पूर्वसतर्कताको योजनाहरुलाई सबैले पालना गर्ने र सम्भावित खतरा र संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनु पर्ने बताउनुभयो । भिडभाडमा नजाने, अत्याबश्यक बाहेक अस्पताल लगायतका मानिसहरुको बढी आवतजावत हुने स्थानमा नजानुनै उत्तम हुने उहाँले बताउनुभयो । सकभर घरभित्रै वस्न उहाँले सुझाव दिनुभएको छ ।
त्यस्तै अस्पतालका डाक्टर प्रयुस अर्यालले कोरोना संक्रमितको लक्षणहरु ज्वरो आउने, शरिर दुख्ने, खोकी लाग्ने र स्वास फेर्न कठिनाई अवस्था आउने उहाँले बताउनुभयो । बाहिरबाट आउने र सम्भावित जोखिमयुक्त क्षेत्रमा गएर आएका व्यक्तिहरुसंगको घुलमिल भएको अबस्थामा यस्ता लक्षण देखिएमा अस्पतालमा आएर स्वास्थ्य परिक्षण गर्न उहाँको सुझाव छ ।

सामान्य ज्वरो, रुघखोकी लागेकै अबस्थामा मात्रै त्रसित हुनुनपर्ने बताउँदै उहाँले संक्रमित भएका व्यक्ति र कोरोनाको संक्रमण फैलिएको स्थानबाट आएका व्यक्तिहरुसंगको घुलमिल भएको र उक्त लक्षण देखिएको अबस्थामा मात्रै स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो । सर्वसाधरणहरुमा यसवारेमा बढी त्रास फैलिएको बताउँदै उहाँले त्रसित हुनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । कोरोनाबाट बच्न अपनाउनु पर्ने उपायहरुलाई पूर्णरुपमा व्यवहारमा लागू गर्न सकेमा यसबाट बच्न सकिने उहाँको सुझाव छ ।

सकभर घरमै बस्ने र भीडभाड हुने स्थानहरुमा नजान उहाँले सुझाव दिनुभयो । भाइरसबाट बँच्न घरेलु उपाय नै उत्तम विकल्प हो । संक्रमितहरुबाट अरुलाई नसरोस भनेर पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले सुुझाएका छन् । वृद्ध र दिर्घरोगीहरुलाई यसले धेरै असर गर्ने भएकाले सचेत हुन चिकित्सकहरुले बताएका छन् ।

त्रसित हुनुपर्दैन तर सजग र सर्तक भने हुनुपर्र्ने डाक्टर अर्यालले बताउनुभयो । कुनै लक्षणहरु देखिएमा नजिकको स्वास्थ्यकेन्द्रहरुमा जानुपर्ने उहाँले बताउनुभयो । सकभर घरमै सेल्फक्वारेन्टाइनमा वस्न उहाँले सुझाव दिनुभयो ।
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । त्यसैले रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने,

भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने हात नमिलाउने र सजग हुनुपर्दछ । चिकित्सकका अनुसार भाइरसलाई शरीरमा प्रवेश नै गर्न नदिने सबैभन्दा सजिलो र सरल उपाय भनेको हात धुनु नै हो । हात धुने भन्दैमा हामी जस्तो पायो त्यस्तै तरिकाले धुदा हातमा भएका भाइरस नजान सक्छ त्यसैले पनि हात धुदा विधि पु¥याएर धुनु पर्ने चिकित्सकको सुझाव छ ।
हात सफा पानीले भिजाउने अनि हातमा राम्रोसँग साबुन लगाउने ।

साबुन र पानी छुट्टै होइन, सँगसँगै भयो भने किटाणु हटाउनका लागि सबैभन्दा प्रभावकारी हुन्छ । साबुनलाई दुई हातको बीचमा राखेर खुब रगड्नुहोस्। दुई हातका औंलाहरु आपसमा बल्झाएर केहीबेरसम्म मिच्नुहोस् ।

नङको भित्र, हातको पञ्जा, अगाडि, पछाडि साबुन लगाएर मिच्नु पर्दछ । यसरी छालाको घर्षणका कारण किटाणुहरु नष्ट हुन्छन् र फोहोर पनि निस्किन्छ । यदि किटाणु भएपनि त्यही घर्षणमा मिचिन्छ । कम्तीमा २० सेकेन्डजति हातहरु एक आपसमा औंलाहरु बीचमा बल्झाएर रगड्नु पर्दछ ।

यसो गर्नाले त्यसबाट शुक्ष्म किटाणुहरु पनि नष्ट हुनसक्छन् । त्यसपछि सफा पानी फेरि हातमा खन्याउने वा धारामा हात पखाल्दा पनि हात बेस्सरी मिच्नुपर्दछ । यसरी मिचिमिचि हात धुदा शरीरबाट शुक्ष्म किटाणुहरु लगभग नष्ट गर्न सकिन्छ ।

हात धोइसके पछि एउटा सफा टवेल वा रुमालले हातलाई विस्तारै पुछने वा तातो हावामा एकछिन राख्ने गर्नु पर्दछ । चिसो हातमा भारइसहरु सजिलै पस्न पनि सक्ने हुदा, तिनलाई केही बेर सुकाउन आवश्यक रहेको चिकित्सकको सुझाव छ ।

अस्पतालको तयारी के छ ?
कोरोना भाइरसको महामारी सँग जुद्ध्नका लागि बेनी अस्पतालले पनि आवश्यक तयारी गरेको छ । अस्पतालमा आउने विरामीहरुलाई कोरोना भाइरसका वारेमा जानकारी दिने काम अस्पतालले गरेको छ । कोरोना भाइरस र यसबाट सुरक्षित हुने तरिकाबारेमा सर्वसाधारणहरुलाई जानकारी दिन थालिएको अस्पतालका डाक्टर मनोज घिमिरेले बताउनुभयो । कोरोना भाइरसको जोखिम रहेकाले अस्पतालका कोही पनि स्वास्थ्यकर्मीहरुलाई विदा नदिएको उहाँले बताउनुभयो । सवै स्वास्थ्यकर्मीहरुलाई हाइअलर्टमा राखिएको उहाँले बताउनुभयो ।
अस्पताल निर्माणको चरणमा भएकाले क्वारेन्टाइन र आइसुलेशन वार्ड बनाउन समस्या भएको उहाँले बताउनुभयो । अस्पताल भित्र एक शैयाको आइशोलेसन वार्ड स्थापना गरिएको छ । भने बेनीको हिलसाइड स्थित माउन्ट एभरेष्ट बोर्डिङले प्रयोग गरेको पुरानो भवनलाई मर्मत सम्भार र रंगरोगन गरी अस्थायी अस्पताल तयार पारिएको छ । जिल्लामा कोरोना भाइरस संक्रमितहरु भेटिएमा अस्थायी अस्पतालमा राखेर उपचार गरिने छ । बोर्डिङका पाँचकोठालाई लिएर १० शैयाको क्वारेन्टाइन र आइसोलेसन कक्ष बनाइएको हो । नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा कोरोना संक्रमितका लागि अस्थायी अस्पताल तयार पारिएको अस्पतालका डाक्टर घिमिरेले जानकारी दिनुभयो ।

निजी क्षेत्रको अनुरोध
निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र मुलुकको विषम परिस्थितिलाई ध्यानमा राखेर व्यवसायीहरुले आफ्नो भूमिकालाई प्रभावकारी र इमान्दारी ढङ्गले निर्वाह गर्न अपिल गरेको छ । कठिन परिस्थितीमा निजी क्षेत्रको तर्फबाट आफ्नो कर्तव्य निर्वाह गरी मानव जिवनका दैनिक अत्यावश्यकीय वस्तुहरु जस्तै मास्क,सेनेटाइजर,औषधि,आद्यन्न,ग्यास लगायत पेट्रोलियम पर्दाथहरुको व्यवस्थापन र बिक्रीवितरण तथा ढुवानीको कार्य पारदर्शी एवम् प्रभावकारी रुपमा गर्न उद्योगी व्यवसायीहरुलाई अपिल गरेको छ ।

दैनिक उपभोग्य सामाग्रीहरुको अभाव सिर्जना गराइएको पाइएमा सजाएको भागिदार हुन समेत चेतावनी दिएको छ । व्यवसायिक आचारसहिंता भित्र रही आ– आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न समेत सवैमा अनुरोध गरिएको संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । आवश्यक भन्दा धेरै दैनिक उपभोग्य वस्तुहरुको भण्डारण नगर्न समेत आम उपभोक्ताहरुलाई संघले अनुरोध गरेको महासचिव लिलाराम गौतमले बताउनुभयो । मुलुकको वर्तमान कठिन परिस्थितिलाई सहज र सरल बनाउन समेत सबैमा संघले अनुरोध गरेको छ ।

कोरोना भाइरसको प्रकोप सँग लड्न म्याग्दी सक्षम छ ः प्रजिअ
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न म्याग्दीमा के कस्ता पूर्वतयारीहरु गरिएका छन् ? म्याग्दी कोरोना भाइरसको प्रकोपसँग लड्न सक्षम छ वा छैन ? दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति सहज बनाउन जिल्ला प्रशासनले कस्तो भूमिका खेलेको छ ? यिनै विषयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसँग हामीले छोटो साक्षात्कार गरेका छौं ।

कोरोना भाइरसको जोखिम सँग लड्न के कस्ता पूर्वतयारी छन् ?

कोरोना भाइरसको प्रकोपबाट बच्न जिल्लाले उच्च सर्तकर्ता अपनाएको छ । जनसमुदायहरुलाई व्यक्तिगत सरसफाईमा ध्यान दिन अनुरोध गरेका छौं । त्रसित हुनुपर्ने अवस्था छैन तर सर्तक भने हुनुपर्दछ भनेर भनेका छौं । सवै स्थानीय तहलाई कोरोना भाइरसको लक्षण र यसबाट बच्न सकिने उपायका वारेमा सचेतना फैलाउन अनुरोध गरेका छौं । स्वास्थ्य कार्यालयले स्थानीय सञ्चारमाध्यमबाट सचेतना जगाउने कार्य गरिरहेको छ । सवै म्याग्दीवासी दाजुभाईहरुलाई कत्ति पनि नतर्सिन,नआत्तिन र नियमित रुपमा सावुनपानीले हात धुन अनुरोध गरेका छौं । सर्तक र सजग हुन पनि सवैमा म अनुरोध गर्दछु ।

यसका साथै बेनी अस्पतालमा एउटा आइसोलेसन वार्ड खडा गरेका छौं । र माउन्ट एभरेष्टले प्रयोग गरेको पुरानो भवनमा अस्थायी अस्पताल बनाएका छौं । स्थानीय तह,अस्पताल र सुरक्षा निकायको सहयोगमा त्यहाँ १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ । कोरोना भाइरसको लक्षण देखिएमा तत्काल क्वारेन्टाइनमा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौं ।

आम सर्वसाधरणहरुमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुने चिन्ता पनि छ 

जिल्लामा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन हामी सचेत छौं । बजारमा छड्के अनुगमन पनि गर्ने गरेका छौं । हामीले दैनिक उपभोग्य वस्तुहरुको स्टक पनि लिएका छौं । अत्यवश्यक वस्तुहरुको अभाव नहुँने भएकाले आत्तिनुपर्ने अवस्था छैन । ग्यास,पेट्रोल,डिजिल लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज र सरल बिक्रीवितरण गरिदिन व्यवसायीहरुलाई प्रशासनले अनुरोध समेत गरेको छ । जिल्लामा पर्याप्त मात्रामा खाद्यवस्तुहरुको स्टक भएकाले आत्तिनुपर्ने अवस्था छैन ।

कोरोना संक्रमित देखा परिहाले भने यसको व्यवस्थापनका लागि हामी सक्षम छौं ?

कोरोना भाइरसको लक्षण देखिएमा हामीले यसको व्यवस्थापनका लागि तयारी गरेका छौं । हामीसँग स्वास्थ्यकर्मीहरुको अभाव हुनसक्ने देखिएकाले जिल्लाभर रहेका स्वास्थ्यकर्मीहरुलाई हाईअलर्टमा रहन अनुरोध समेत गरेका छौं ।

सवै स्थानीयतह मार्फत हामीले यसबारेमा जानकारी समेत गराएका छौं । औषधि पनि पर्याप्त छ । अर्को कुरा हामीले आइसोलेसन वार्ड पनि निर्माण गरेका छौं । कसैमा भेटिहाले हामीले क्वारेन्टाइनमा राखेर उपचार गर्नेछौं । सुरक्षा निकायकालाई पनि उच्च सर्तकर्तामा राखेका छौं । जिल्ला स्थित विभिन्न संघसस्थाहरु पनि कोरोना भाइरस सँग जुद्ध्न तयारी अवस्थामा छन् । सवैले आ¥आफ्नो क्षेत्रबाट सचेतना जगाउने कार्यहरु पनि गरिरहनुभएको छ ।

अन्तमा ः प्रशासनको तर्फबाट जिल्लावासीलाई केही भन्नुहुन्छ की !

कोरोना भाइरसकारण जुन त्रास उत्पन्न भएको छ । म कोही पनि त्रसित नहुन अनुरोध गर्दछु । कोरोना भाइरसबाट बच्ने विधि र प्रक्रृयाहरु अवलम्बन गर्न अनुरोध छ । सकभर घरभित्रै सेल्फक्वारेन्टाइनमा वस्न अनुरोध गर्दछु । जरुरी काम वाहेक अन्य समयमा बाहिर ननिस्कन समेत अनुरोध छ । नवविकल्प साप्ताहिकमा प्रकाशित