म्याग्दी आज रातिदेखि ‘लक डाउन’

विकल्प न्यूज/बेनी
चैत १० गते ।
नोवेल कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार(आज) रातीबाट म्याग्दीलाई लक डाउन गरिने भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको सर्वपक्षिय वैठकले कोरोना भाइरसको जोखिमबाट बच्न जिल्लालाई लक डाउन गर्न जिल्ला सुरक्षा समितिलाई सुझाव दिएको हो ।

जिल्लाका ९ स्थानमा एकिकृत चेकपोष्ट स्थापना गर्ने निर्णय गरेको छ । रत्नेचौर मौवाफाँट, दाना, बावियाचौर,ताकम,घोडेपानी, तोरीपानी, दरवाङ र कालिपुलमा चेकपोष्ट राख्ने निर्णय भएको जिसस अधिकारी ज्ञानराज कोइरालाले बताउनुभयो ।

४५ वटै वडाहरुलाई बाहिरबाट आउने मानिसहरुको तथ्याङ संकलन गर्न लगाउने र अवस्थाका वारेमा जिल्ला र केन्द्रलाई जानकारी गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

वाहिरबाट आउने मानिसहरुलाई होम क्वारेन्टाइनमा वस्न अनुरोध गर्ने निर्णय भएको छ ।
दैनिक उपभोग्य वस्तुहरुको सहज रुपमा आपूर्ति मिलाउन उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने वैठकले निर्णय गरेको छ । यसै गरी माउन्ट र न्यूवेष्ट प्वाइन्टमा अस्थायी अस्पताल निर्माण गर्ने वैठकले निर्णय गरेको छ ।

अत्यवश्यक वस्तुहरुको पसल विहान १० देखी ४ वजे सम्म मात्र खुल्ला रहने र जिल्ला भित्रका यातायातका साधनहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । अनावश्यक रुपमा वाहिर निस्कन र हिडडुल नगर्न सर्वसाधारणहरुमा वैठकले अनुरोध गरेको छ ।वैठकमा प्रतिनिधि सभा सांसद भुपेन्द्र बहादुर थापा,गण्डकी प्रदेश सभाका सदस्य विनोद केसी, नेकपाका कार्यालय सदस्य बालकृष्ण सुवेदी,नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, बेनी नगरपालिका मेयर हरिकु्मार श्रेष्ठ,अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजा,रघुगंगाका भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरण जंग कुँवर,मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालु, बेनी अस्पतालका डाक्टर, जिल्ला जनस्वास्थ्यका प्रमुख,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्य र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागि वैठकले कोरोना भाइरसको जोखिमबाट जिल्लालाई बचाउन आवश्यक उपायाहरु अवलम्बन गर्न सुझाव दिएका थिए ।

वैठकले जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटरसाइकलको आवतजावत सोमबार राति १० बजेदेखि पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी कोइरालाले बताउनुभयो ।

अत्यवश्यक सामानका पसलहरु बाहेक अन्य पसलहरु बन्द गर्नका लागि उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने निर्णय गरेको छ ।