गाउँपालिकाको सहयोगमा परिक्षार्थी घर फर्किदै

विकल्प न्यूज/बेनी
चैत ६ गते । 

एसईई परिक्षामा सहभागि हुन परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुलाई घर फर्किनका लागि गाउँपालिकाहरुले सहयोग गरेका छन् । अन्नपूर्ण गाउँपालिका,धौलागिरि र रघुगंगा गाउँपालिकाले दुर्गम क्षेत्रबाट परिक्षा केन्द्रमा आएका परिक्षार्थीहरुलाई परिक्षा स्थगित भएपछि सहज रुपमा घर फर्किनका लागि आर्थिक सहयोग गरेका हुन ।

अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा सहभागी हुने पालिका भित्रका सबै १ सय ६८ जना विद्यार्थीलाई खाजा र यातायात खर्च दिएको छ । एसईइ परीक्षामा सहभागी हुनका लागि म्याग्दीको सदरमुकाम बेनी र गाउँपालिकाकै घारमा पुगेका विद्यार्थीलाई प्रति विद्यार्थी १ हजार दिने गाउँपालिका अध्यक्ष डम बहादुर पुनले बताउनुभयो ।

‘विद्यार्थीलाई आफ्नो क्षेत्रमा फर्किन आवश्यक समन्वय पनि गर्नेछौ,‘ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी थप परीक्षाको तयारीमा समेत सघाउँछौ’ पुनले भन्नुभयो । गाउँपालिकाकामा रहेका माध्यामिक विद्यालयमध्ये वडा नं ६ घार र ८ वडाको हिमाञ्चल माविका ५० जना विद्यार्थी सदरमुकाम बेनीमा छन् । अर्को सूचना जारी नहुदाँसम्म विद्यार्थीलाई आवश्यक कोचिङ सहितको ब्यवस्था गर्न वा तयारीमा प्रयाप्त समय दिन समेत सम्बन्धि विद्यालयलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै बेग, भुरुङ, दाना, नारच्याङ, शिख, हिस्तानका विद्यार्थी मुक्तिमार्ग मावि घार केन्द्रबाट परीक्षा दिने तयारीमा रहेको अवस्थामा तत्काल सहयोगको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले बताए । उनले आगामी दिनमा समेत विद्यार्थीको अनुकुल हुने गरी परीक्षामा आवश्यक सहजीकरण गने बताएका छन् । गाउँपालिकाले कोरोना भाइरसको जोखिमबाट जोगिन सार्वजनिक कार्यक्रमहरु नगर्न समेत निर्देशन दिएको छ ।

यसै गरी धवलागिरी गाउपालिकाले एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीको राहतका लागि विद्यालयलाई सहयोग गर्ने भएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले बिहीबार देखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईइ) बुधबार साँझ स्थगित गर्ने निर्णय गरेको थियो । बिशेष परिस्थितिका रुपमा लिएर सरकारले अन्तिम अवस्थामा एसईइ परिक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

टाढा–टाढाका विद्यालयबाट एसईइ परिक्षामा सहभागि हुनका लागि परिक्षा केन्द्रमा आएका विद्यार्थीहरुको राहतका लागि धवलागिरी गाउपालिकाले सहयोग गर्ने अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

धवलागिरी गाउपालिकाको ९ वटा विद्यालयका विद्यार्थीका लागि हेम मावि शिवाङमा परिक्षा केन्द्र कायम भएको थियो । हेम माविका विद्यार्थीका लागि भने जनप्रिय मावि दरवाङमा केन्द्र तोकिएको छ ।

घरबाटै परिक्षामा सहभागि हुने ताकम मावि बाहेकका विद्यालयका विद्यार्थीको खाजा, खानाका लागि गाउपालिकाले दश÷दश हजार रुपैयाँ विद्यालयलाई उपलब्ध गराउने अध्यक्ष पुनले जानकारी दिनुभयो ।

जंगल, भिरको हिउँको पहाड छिचोलेर पुरै दिन पैदल हिडेर खिवाङ आइपुगेका विकट गुर्जाको जनकल्याण माविका विद्यार्थीहरुका लागि एक दिन शिवाङमा विश्राम गर्न, आउन र फर्कदा सादा खानामा हुने खर्च गाउपालिकाले ब्यहोर्ने भएको छ । गुर्जाका बिरामी भएमा सामान्य उपचार खर्चको समेत व्यवस्था गरिने भएको छ ।

संघीय सरकारले स्वास्थ्यको संवेदनशिलतालाई ध्यानमा राखेर गरेको निर्णयले मर्कामा परेका विद्यार्थीहरुलाई केही भएपनि राहत मिलोस भनेर गाउपालिकाको विपद् व्यवस्थापन कोषबाट सहयोग गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो ।

अध्यक्ष पुनका अनुसार उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनार, कार्यपालिका सदस्य, शिक्षा र लेखा शाखाका कर्मचारीहरुसंग परामर्श गरेर आकस्मिक रुपमा निर्णय गरिएको हो ।