बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग

विकल्प न्यूज/बेनी
फागुन १६ गते । 

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार विभिन्न संघ संस्थालाई चार लाख तीस हजार भन्दा बढी सहयोग गर्नुभएको छ ।

बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई रु। दुई लाख २२ हजार २२२, पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र गलेश्वर आमा समूहलाई रु। ५१ हजारका दरले सहयोग गर्नुभएको हो ।

बिवाहको अवसरमा गलेश्वरमा आयोजित कार्यक्रममा पुन दम्पत्ती र उहाँका अभिभावकहरुले संघ संस्थाका प्रतिनिधिहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । छोराको बिवाहमा तडकभडक नगरि खर्च बचाएर सामाजिक संघ संस्थाको संस्थागत विकासलाई सहयोग गरेको बचनका बुवा बमबहादुर पुनले जानकारी दिनुभयो ।

“बिवाह भोजलाई सामान्य बनाएर सामाजिक संघ संस्थालाई सहयोग गरेका हौ,” पुनले भन्नुभयो “परिवारको सल्लाह अनुसार छोराको बिवाहलाई फरक बनाउन खोजेका हौ ।” पुन दम्पत्तीलाई विपन्न म्याग्देलीको उपचारमा सघाउदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बिधान अनुसार संरक्षक सदस्यता प्रदान गर्ने अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पुन परिवारले बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग गरेर नमुना काम गरेको बताउनुभयो । “बिवाह संस्कृतिलाई समाजसंग पनि जोड्ने पुन परिवारको यो काम प्रशसनीय छ,” उहाँले भन्नुभयो ।

बचन र इन्दीरा अस्टे«लीयामा बस्नुहुन्छ । उहाँका बुवा बमबहादुर र आमा गलेश्वरमा ब्यापार गर्दै आउनुभएको छ । बमबहादुर पुन गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष हुनुहुन्छ । उहाँ अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ ।