सचिवालय निर्णय कार्यान्वयन नभए प्रधानमन्त्री हटाउनेसम्मको तयारी !

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरसङ्घर्ष चुलिएको छ । बुधबार बसेको पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बाधक बने हटाउनेसम्मको तयारी भएको खुलासा भएको छ ।

स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम शुक्रबार बिहान खुमलटारमा बैठक बसेका थिए । त्यसलगत्तै चितवन पुगेका दुई अध्यक्षको संयुक्त अध्यक्षतामा बसेको निर्णय कार्यान्वयन हुने बताइएको थियो ।

उनले अर्थमन्त्री युवराज खतिवडालाई ६ महिनासम्म निरन्तरता दिन संवैधानिक बाधा नरहेको बताउँदै सचिवालयको निर्णय तुरुन्तै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । प्रचण्ड निवासमा बसेको बैठकले पनि वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय तुरुन्तै कार्यान्वयन हुनुपर्ने निष्कर्ष निकालेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओली आफैं उपस्थित भएर गरेको निर्णय कार्यान्वयन नभए ओलीलाई प्रतिस्थापन गर्नेसम्मको तयारी भएको स्रोतले दाबी गरेको छ । “उहाँ पार्टीको पहिलो वरीयताको अध्यक्ष हो । आफैं उपस्थित भएर गरेको निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन । उहाँले सचिवालय बैठकमा प्रतिवाद पनि गर्नुभएको छैन । असहमति पनि राख्नुभएको छैन । उहाँसँग सचिवालयको निर्णय कार्यान्वयन गर्नुको विकल्प पनि छैन,” स्रोतले भन्यो ।

प्रधानमन्त्रीले ओली सचिवालयको निर्णय तत्काल कार्यान्वयन गर्न सकिँदैन, अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने भन्ने अडानमा देखिन्छन् । त्यसो भए ओलीलाई हटाउने तयारी थाल्नुभएको हो भन्ने प्रश्नमा सचिवालयका ती नेता भन्छन्, “हामीले त्यस्तो परिस्थितिको कल्पना अहिले नै गरेका छैनौं । पार्टीको निर्णय कार्यान्वयन गरेर जाऔं । आफूअनुकूल व्याख्या नगरौं भन्न मात्र खोजेका हौं । उहाँ कार्यान्वयनमा चुनौती बन्नुभयो भने । अन्तिममा परिस्थिति त्यहाँ पनि पुग्न सक्छ,” खुमलटार बैठकको निष्कर्ष स्रोतले उद्धृत गर्‍यो ।