लागु औषध कारोबारीहरु धमाधम पर्नथाले प्रहरी नियन्त्रणमा

विकल्प न्यूज/बेनी
फागुन १३ गते । लागु औषध कारोबारीहरुलाई नियन्त्रण लिनका लागि प्रहरीले सक्रियता बढाए सँगै लागु औषधका कारोबारीहरु धमाधम प्रहरीको खोरमा पर्न थालेका छन् । एकमहिना अघि बेनीको मंगलाघाटबाट ठूलो परिणाममा लागुऔषधी करोवारीहरु पक्राउँ परेसँगै प्रहरीले अभियानलाई तिव्रता दिएको छ ।
लागुऔषधका प्रयोगकर्ता र यसको कारोवार गर्ने युवाहरुको खोजीमा प्रहरीटोली जुटेको छ । प्रहरी टोलीले आइतबार पनि बागलुङ नगरपालिका १० भकुण्डेबाट आइतबार लागु औषध सहित तिनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले म्याग्दीका दुई जना र बागलुङका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउपालिका–६ दरवाङका हरि छन्त्याल, बागलुङ नगरपालिका–१० भकुण्डे डल्याङका विशाल थापा र रघुगंगा गाउपालिका–७ चिमखोलाका लक्की पुन रहेका प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो ।

२० वर्षीय दरवाङका छन्त्याल र चिमखोलाका १८ वर्षीय पुन बेनीमा बस्दै आएका छन् । उनिहरुको साथबाट फेनेरागन १० एम्पुल, नफिन १० एम्पुल, डाइजापाम १० एम्पुल लागुऔषध बरामद भएको छ ।

लागू औषध र तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइएको छ । उनिहरु लागू औषध प्रयोगकर्ता र कारोबारी भएको सूचनाको आधारमा प्रहरी पछ्याउदै बागलुङ पुगेको थियो ।

विकराल अवस्थमा रहेको लागुऔषधको कारोवारीहरुलाई नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।