बर्षौ देखि बाँझो रहेको जमिन भयो तरकारी र फलफुल खेतीले हराभरा

विकल्प न्यूज/बेनी
फागुन १३ गते ।वर्षौ देखिको बाँझो रहेर जंगलमा परिणत भएको जमिन यहाँका एक युवाको परिश्रम र मेहनतका कारण हराभरामा परिणत भएको छ । आप,लिची,अम्बा र केरा लगायतका फलफुलका विरुवाहरु हुर्किदै छन् । केही भागमा तरकारीले जमिनलाई हराभरा देखाएको छ ।
व्यवसायको शिलशिलामा म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्नुहुने पर्वतको जलजला ७ धाइरिङका खेम केसीले बर्षौ देखि बाँझो र जंगलमा परिणत भएको जमिनलाई उपयोग गरेर तरकारी र फलफुल खेती थाल्नुभएको हो । व्यवसायका लागि गाउँछाडेर बजार झरेपछि पुर्खाले जोडेको जमिन बाँझो भयो केसीले भन्नुभयो,‘बाउ बाजेले दुःख गरेर जोडेको जमिनलाई बाँझो राख्नु हुँदैन भनेर फलफुल र तरकारी खेती सुरु गरेको हुँ ।’ बजारमा व्यवसाय गरेर बसेका केसीको परिश्रम देखेर गाउँलेहरु समेत दङ्ग परेका छन् ।
केसीले तिन महिना लगाएर बाँझो र जंगलमा परिणत भएको जमिनलाई खेती योग्य बनाउनुभएको हो । गत बर्षको फागुनदेखि बाँझो जग्गालाइ उपयोगमा ल्याउने अभियानमा लाग्नुभएका केसीले अहिलेसम्म ५५ रोपनी जग्गामध्ये करिब २५ रोपनी जग्गामा तरकारी र फलफुल खेती लगाइसक्नुभएको छ ।
बाँझो जमिनमा झाडी फडानी, खेतियोग्य जमिन निर्माण र फलफुलका विरुवा खरिदमा मात्रै ११ लाख बढी खर्च भएको केसीको भनाई छ । एलभिन फलफुल तथा तरकारी फर्म स्थापना गर्नुभएका केसीले ६ सय कागती , १ हजार केरा, ४ सय आँप, १५० लिचि, १ सय दाँते ओखर, अम्बा लगायतका फलफुलका विरुवा रोपण गरिसक्नभएको छ ।आलु, बन्दा, काउली, साग, गोलभेडा, मटर, खुर्सानी, काँक्रो, घिरौला, करेला लगायतको तरकारी खेती समेत सुरु गर्नुभएका केसीले अहिलेसम्म ५ लाख बराबरको तरकारी विक्रि गरिसकेको जानकारी दिनुभयो ।

बाँझो जमिनलाई उपयोग गरेर रहरलाग्दो तरकारी खेती गरेको देखेर गाउँलेहरु समेत दङ्ग परेका छन् । उत्पादित तरकारी बिक्रीका लागि बेनीमा केसीको आफ्नै तरकारी पसल छ ।

उत्पादन भएको जति पनि तरकारी सहजै विक्री हुने गरेको उहाँको भनाई छ । ६ बर्ष बैदेशिक रोजगारिको शिलसिलामा साउदीमा बस्नुभएका केसीले स्वदेश फर्किएर बिगत १२ बर्षदेखि म्याग्दी सदरमुकाम बेनीमा अटो पार्टस व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँ सफल व्यवय सायीका रुपमा समेत बेनीमा चिनिनुहुन्छ । व्यवसायका साथै सामाजिक सेवामा पनि केसीको सक्रियता छ ।