एमसिसी कार्यदल : शुक्रबार अन्तिम प्रतिवेदन बुझाउँदै

फागुन ८, २०७६ काठमाडौं :

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसिसीको प्रतिवेदन बुझाउने भएको हो। कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताए।

बिहीबारको बैठकमा प्रतिवेदन अगाडि बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, ‘आजको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ। अन्तिम रूप दिएर बुझाउने प्रक्रियामा छौँ। भोलिसम्म प्रक्रिया पूरा गर्छ होला।’

एमसिसीका विषयमा सत्तारूढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसिसीका विषयमा अध्ययन गरिहको छ। कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र झलनाथ खनाल सदस्य छन्। यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझाव सहितको प्रतिवेदन पेश गर्ने तर संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए।