पशुपति दर्शनका लागि पाँच स्थानबाट लाम, पाँच हजार स्वयंसेवक परिचालन

फागुन ८, २०७६ काठमाडौं :

यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।  कोषले गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए।  नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ।

महाशिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समिति –२०७६ गठन  गरेको छ।  यसवर्ष महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर मनाउन मन्त्रीकै अध्यक्षतामा समिति गठन भएको हो।

यसैगरी सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ।

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ। सादा पोशाकमा प्रहरी परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए।online khabar