चीनबाट उद्धार गरिएका सबै कोरोना भाइरस मुक्त

काठमाडौं :

चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपाली नागरिकमा गरिएको स्वास्थ्य परीक्षणमा नोवेल कोरोना भाइरस (कोभीड १९ ) भेटिएन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव खगराज बरालले क्वारेन्टाइनमा बसेका नेपालीहरुमा कोरोना भाइरस नभेटिएको र अभिभावकहरु चिन्तित हुनु नपर्ने बताए।

चीनबाट गत आइतबार उद्धार गरिएका नेपाली नागरिकको झक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरिएको थियो। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, सबैको नाक र घाँटीभित्रको स्वावको नमूना परीक्षण गरिएको थियो। नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरि राष्टिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गरिएको थियो। फागुन ४ , ५ र ६ गते स्वाव संकलन गरी परीक्षण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

क्वारेन्टाइनमा बसेको १४ दिनपछि पुनः नाक र घाँटीभित्रको स्वावको नमूना संकलन गरी परीक्षण गरिने छ। मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने,‘ पहिलो पटक स्वावको परीक्षण गर्दा नेगेटिभ आएको छ। फेरि एकपटक परीक्षण गरिन्छ। ’

नेपालबाट अध्ययन र व्यवसायका लागि चीन गएका नेपाली नागरिकहरुलाई सरकारले भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखेको छ। नेपाल वायु सेवा निगमको जहाजबाट यही फागुन ४ गते उद्धार गरी उनीहरुलाई स्वदेश ल्याइएको थियो।annapurna post