पर्वतमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

फागुन २०७६ पर्वत :

आर्थिक समस्याका कारण उपचारमा कठिनाइ भएकालाई मध्यनजर गर्दै पर्वत जिल्लामा पनि देशका अन्य ५१ जिल्लामा जस्तै स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। सोमबार स्वास्थ्य बीमा बोर्डका निर्देशक रमेशकुमार पोखरेल र स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका प्रमुख जीवलाल खरेलसहितको उपस्थितिमा पर्वतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको घोषणा गरिएको हो।

यससँगै पर्वत जिल्ला स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने देशको ५२ औँ र गण्डकी प्रदेशको सातौँ जिल्ला बनेको छ।स्वास्थ्य बीमा गर्ने परिवारमा ५ जना सदस्य भएमा एकमुष्ट रूपमा वार्षिक ३५ सय रुपैयाँ बीमाको प्रिमियमको रूपमा जम्मा गर्नुपर्ने तर ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्यको ७ सय रुपैयाँका दरले रकम थप गर्नुपर्ने पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।

एक वर्षको लागि बीमा शुल्क तिरेका व्यक्तिले वर्षमा एक लाख सम्मको निःशुल्क उपचार गर्न पाउने छन्। ‘आर्थिक समस्याका कारण बढी रकम खर्च गर्न नसक्नेहरूका लागि यो कार्यक्रम निकै नै उपयोगी छ’ पहाडीले भने, ‘यसको विषयमा सबैले कुरा बुझ्नुपर्छ। स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्छ। स्वस्थ रहनुपर्छ।

स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराइएका सम्पूर्ण स्वास्थ्य सुविधाहरू त प्राप्त गर्ने नै छन् त्यसबाहेक बहिरङ, अन्तरङ र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरू तथा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवाहरू पनि पाउने छन्। ‘५ जनासम्मको परिवारले आवश्यक पर्दा वार्षिक एक लाख सम्मको स्वास्थ्य बीमा उपभोग गर्न पाउँछन्’ बीमा बोर्डका निर्देशक पोखरेलले भने, ‘धनी-गरिब सबै वर्गलाई उचित स्वास्थ्य सेवा पाउनको लागि, उपचारको लागि विदेश जान नसक्ने तथा नेपालमै पनि लाखौँ खर्च गर्न नसक्नेलाई यसबाट बढी नै सजिलो र फाइदा हुन्छ।’

बीमाका लागि एक पटक नवीकरण गरिएको शुल्कले एक वर्षका लागि मात्र काम गर्नेछ। तर नवीकरण गर्दा निर्धारित मिति सकिनुभन्दा एक महिना अगाडि नै गरिएको हुनुपर्ने नियम राखिएको छ। बीमामा समावेश भएका ७० वर्ष माथिका प्रत्येक ज्येष्ठ नागरिकको बीमा निःशुल्क रूपमा गरिने र एक लाख सम्मको औषधि उपचार सेवा प्राप्त गर्ने छन्।

स्वास्थ्य बीमा कार्यक्रममा कस्मेटिक सर्जरी, सहायक उपकरण यन्त्रहरू चस्मा, कान सुन्ने यन्त्र लगायत उपलब्ध नहुने, दाँतसम्बन्धी महँगा उपचार, कृत्रिम गर्भाधान, लिङ्ग परिवर्तन लगायतका केही सेवा भने समावेश नभएको बीमा बोर्ड गण्डकी प्रदेश प्रमुख जीवलाल खरेल बताउँछन्। बीमा गरेकै आधारमा आफ्नो जिल्लाको सूचीकृत अस्पताल छोडेर बाहिरका अस्पतालमा जाँदैमा सेवा नपाइने तर तोकिएको अस्पतालको सिफारिस साथ अन्य सूचीकृत अस्पतालमा गएमा भने सेवा पाइने उनको भनाई छ। thha khabar