बाख्रापालनले ल्यायो परिवारको मुहारमा खुसी (भिडियोसहित)

विकल्प न्यूज/बेनी

फागुन ३ गते ।  
बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरको फार्ममा पुग्दा थापा पाखोबारीमा पाठापाठी चराउन व्यस्त हुनुहुन्थ्यो । उहाँको श्रीमती मनभुजा थापा गोठमा माउ बाख्रालाई घाँसपात राख्दै हुनुहुन्थ्यो । गोठमा बोयर जातका रहर लाग्दा बाख्राहरु खेलिरहेका देखिन्थे । बेनी – बागलुङ सडक खण्ड अन्तर्गत खबरा देखि केही माथि पुगेपछि जंगलको विच र एकान्त स्थानमा थापाको व्यवस्थित बाख्रापालन व्यवसाय छ ।
वैदेशिक रोजगारीको शिलशिलामा पाँचवर्ष इराक वस्नुभएका थापा गाउँ फर्किएर व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । बाख्रापालन व्यवसायले परिवारमा खुसी ल्याएको अनुभव उहाँको छ । वैदेशिक रोजगारीमा हुँदा सधै घरपरिवारको चिन्ता मात्र हुने गरेको सुनाउँदै थापाले भन्नुभयो ‘अहिले परिवार सँग मिलेर बाख्रापालन व्यवसाय गर्दा आनन्द मिलेको छ ।’ विदेश जाने सोच त्यागेको उहाँले बताउनुभयो ।
दुई वर्ष अघि निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय थाल्नुभएको हो । ३९ वर्षीय थापाले बाख्रामा देखिने रोगको उपचार समेत आफै गर्नुहुन्छ ।

https://www.youtube.com/watch?v=UjInE2eD9iI&t=1138s

पहिला जमुनापारी र खरिजातका बाख्रा पाल्दा रोग लागेर हैरानी खेप्नुभएका थापाले मुस्ताङ स्थित धौलागिरि प्राविधिक शिक्षालयमा डेढवर्ष भेटेरीनरी सम्बन्धी कोर्ष पुरा गर्नुभएको छ । बाख्रा पाल्दा प्राविधिक ज्ञान पनि आवश्यक ठानेर प्राविधिक विषय पढेको हुँ उहाँले भन्नुभयो, अहिले सवै प्रकारका रोगहरुको उपचार आफै गर्दछु ।’ छरछिमेकीका बाख्राहरुमा रोग लागेमा उपचारमा सघाउने गरेको छु उहाँले भन्नुभयो । दुई वर्ष अघि स्याङ्जाबाट ४ वटा वोयर जातका बाख्रा ल्याएर सुरु गर्नुभएको फार्ममा हाल माउ,पाठापाठी र बोका गरी ४० वटा बाख्रा छन् । अर्जम गाउँमा वसोबास गर्नुहुने थापा हुलाकेमा पुर्खाको जमिन सदुपयोग गरेर करिब पाँचलाख लगानी गरेर बाख्रापालन व्यवसाय गर्नुभएको हो । अहिले थापाको लागनी करिब १० लाख पुगेको छ । मासुका लागि भन्दा पनि विउका लागि बोकाहरु उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो । थापाको फार्ममा उत्पादन भएका बोकाहरु किसानहरुले खरिद गरेर लैजाने गरेका छन् ।

पाठापाठीहरु पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । एकसय प्रतिशत बोयर माउलाई एकलाख ६० हजार रुपैयाँ पर्ने उहाँले बताउनुभयो । पचास प्रतिशत भएको बोेयरलाई प्रतिकेजी ९ सय देखि एकहजार सम्म ७५ प्रतिशतलाई १२ सय देखि १५ सय सम्ममा विक्री हुने गरेको थापाले बताउनुभयो । आठ महिना पाल्दा ३० देखि ३५ केजी तौल सम्मको बोका उत्पादन हुने र ३५ हजार सम्ममा विक्री हुनेगरेको उहाँले बताउनुभयो ।

गत वर्ष भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रबाट ४ लाख पचास हजार रुपैयाँ अनुदान पाउनुभएका थापाले त्यतिनै बराबरको रकम थपेर आधुनिक खोर निर्माण गर्नुभएको छ । आधुनिक खोर निर्माण भएपछि बाख्राको संख्या थपेको उहाँले सुनाउनुभयो । बाख्राका लागि थापाले पाखोबारीमा घाँस रोप्नुभएको छ । छोटो समयमा बढी उत्पादन दिने, कोल्डस्टोरको मात्रा कम हुने हुँदा उत्पादन र स्वास्थ्यको लागिसमेत उपयुक्त हुने भएकाले बोयर जात बाख्रा पाल्न थालेको उहाँले बताउनुभयो ।

जङ्गलको बीच र एकान्त स्थानमा निर्मित आधुनिक खोर बनाउनुभएका थापाले भविष्यमा व्यवसायलाई अझै विस्तार गर्ने योजना सुनाउनुभयो । विदेशमा भन्दा आफ्नै गाउँमा व्यवसाय गर्दा परिवारको मुहारमा समेत खुसी छाउने उहाँले अनुभव सुनाउनुभयो ।

फार्ममा उत्पादन भएका बोकाहरु मासुको प्रयोजनका लागि नभई शुद्व बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नत जातका पाठापाठी बिक्री गर्ने योजना उहाँको छ । पाखोवारीमा इपिलइपिल, राई खनियो लगायत विभिन्न डाले घाँसका बिरुवा लगाउनुभएको छ । स्थानीय स्रोत र साधनको उपयोग गरेर व्यवसाय गरेमा सफल हुने उहाँले बताउनुभयो । कृषि पेशामा परिश्रम गर्न सके राम्रो आम्दानी गर्ने सकिने उहाँले बताउनुभयो । नवविकल्पमा प्रकाशित

https://www.youtube.com/watch?v=UjInE2eD9iI&t=1138s