नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रताप बानियाँ / बेनी

म्याग्दी, फागुन २ गते ।          ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सञ्चालन गरिएको हो ।प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद केसीले सङ्घीयताको कार्यान्वयनसँगै पछिल्लो समय खेलकुद ग्रामीण क्षेत्रसम्म पुगेको बताएका छन् । उनले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि गण्डकी प्रदेश सरकारले ‘एक स्थानीय तह, एक खेलकुद मैदान’को अवधारणा अगाडि सारेको बताउँदै खेल क्षेत्रले राष्ट्रियताको समेत प्रतिनिधित्व गर्ने भएकाले व्यवस्थित बनाउनुपर्ने बताए ।सदस्य केसीले हिमाली जिल्ला म्याग्दीमा भौगोलिक विकटताका कारणले गर्दा खेल क्षेत्रको विकासमा समस्या भैरहेको बताउँदै स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले देश बदलिएर नयाँ परिवेशमा प्रवेश गरेको भन्दै पछिल्लो समय गाउँ, टोल, शहर तथा बजारमा खेलकुदजन्य गतिविधिहरु बढ्दै जान थालेको बताए ।बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले खेल प्रतिभाको पहिचानका लागि नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताउँदै प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने बताए । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले खेलकुदको मर्यादाभित्र रहेर खेल खेल्न खेलाडीहरुलाई सुझाव दिएका छन् । उनले एम्पायरको निर्देशन अनुसार अनुशासितपूर्वक खेलमा आफ्नो प्रतिभा देखाउन आग्रह गर्दै विद्यार्थीहरुले अध्ययन सँगसँगै खेलकुद, मनोरञ्जन र अभिभावकलाई सघाउनुपर्ने बताए ।नेपाली कांग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले खेलकुदले एकापसमा मित्रताको भावना विकास गराउने हुँदा अनुशासनलाई ध्यानमा राखेर खेल खेल्न अनुरोध गरेका छन् । बेनी नगर कार्यपालिका सदस्य एवं प्रतियोगिता उपसमिति संयोजक कृष्णकुमार विश्वकर्माले उद्घाटनसत्रमा आइपुग्दा आंशिक सफल भैसकेको हुँदा सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न हुने विश्वास व्यक्त गरे । राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले खेलकुदमा निरन्तर रुपमा लागेमा सफलता हासिल गर्न सकिने बताएकी छिन् ।नगर प्रमुख श्रेष्ठको अध्यक्षता, प्रवक्ता रामकृष्ण बराईलीको स्वागत र शाखा अधिकृत युवराज थापाको सञ्चालमा प्रतियोगिताको उद्घाटनसत्र सम्पन्न भएको थियो । आगामी तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बेनी नगरपालिका भित्रका २४ ओटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टका खेलहरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेतालाई क्रमशः नगद ५० हजार, ३५ हजार र २० रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिनेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगद तीनहजार पाँचसय र उत्कृष्ट खेलाडीलाई दुईहजार पाँचसय रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जनाइएको छ । यसैबीच प्रतियोगिता अन्तर्गत भलिबलतर्फ जयन्ती मावि भकिम्ली र माउण्ट एभरेष्ट आवासीय मावि बेनीबीच उद्घाटन खेल खेलाइएको छ ।