रघुगंगा गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

विकल्प न्यूज/बेनी
फागुन १ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको रघुगंगा मावि पिप्लेमा गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य केसीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको पहिचान गर्दै खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले एक स्थानीय तह एक खेलमैदानको नीति लिएको बताउँदै गाउँपालिकाबाट हुने सिफारिसको आधारमा खेलमैदानमा निर्माणमा बजेट विनियोजनमा पहल गर्ने बताउनुभयो । फागुन दुई गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई नगद रु ५० हजार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि प्रतियोगितामा द्धितियलाई नगद रु ४० हजार र तितृयलाई नगद रु ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मीले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको हरेक इभेन्टमा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद रु ५ सय, ४ सय र ३ सयको दरले पुरस्कृत समेत गरिने गाउँपालिका अध्यक्ष भवहादुर भण्डारीले बताउनुभयो । विद्यार्थीहरुको हौँसलाको लागि हरेक इभेटन्टमा प्रोत्साहनको कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी, नेपाली काँग्रेसका उपसभापती माधव रेग्मी, राप्रपाका अध्यक्ष बिर बहादुर थापा,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउन पाउने भएकाले अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको दौडमा छात्रतर्फ रघुगंगा माविका समिर राना प्रथम, मुक्तिधाम माविका मनोज बरुवाल द्धितिय र रितुङ माविका मिलन गर्वुजा तितृय तथा छात्रातर्फ ज्ञानोदय माविकी निसा रिजाल प्रथम, रितुङ माविकी हरिमायाँ छन्त्याल द्धितिय र मुक्तिधाम माविकी लिलाकुमारी केसी तितृय हुन सफल भएका छन् । उनीहरुलाई कार्यक्रममा नगद सहित मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, प्रमुख प्रशासयिक अधिकृत रेग्मीको स्वागत र वडा नम्बर ३ का वडा अध्यक्ष एवम् गाउँ कार्यपालिकाका प्रवक्ता जिवनकुमार मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।