सिन्धुपाल्चोकका बिरामीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो, २०० जना बिरामी

माघ २९, २०७६ काठमाडौं :

 सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा देखिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली आज त्यसतर्फ जाँदैछ।  छिमेकी गाउँपालिका बलेफीमा रहेको जलविरे स्वास्थ्य केन्द्रबाट एक जना डाक्टर र स्वास्थ्यकर्मीको टोली लिएर प्रभावित क्षेत्र जान लागेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए।

अहिले विहानसम्म बिरामीको संख्या २ सय १ जना पुगेको अध्यक्ष श्रेष्ठले बताए। ‘एकजना बिरामी पर्ने वित्तिकै पुरै परिवारमा फैलिरहेको छ, श्रेष्ठले थाहाखबरलाई भने, ‘कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाले पनि स्थानीय त्रसित भएका छन्।’

विरामीहरुमा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी, श्वास प्रश्वासमा कठिनाईलगायतका समस्या देखिएको श्रेष्ठको भनाइ छ। चीनको सीमा क्षेत्र भएपनि हिमालका कारण चीनसँग त्यति आवतजावत हुने गरेको छैन।

तामाङ समुदायको बाक्लो बस्ती भएका कारण प्रकोप तिब्ररुपमा फैलिन सक्ने भएकाले आज केही मास्क र औषधीसहित त्यसतर्फ जान लागिएको अध्यक्ष श्रेष्ठले बताए।गाउँपालिका कार्यालयले विरामीमा कोरोना भाइरसको जस्तो लक्षण देखिएको भन्दै रोग पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विशेष टोली पठाइदिन पत्राचार पनि गरेको छ।thha khabar