दिवंगत हस्त गर्वुजा दम्पतीको स्मृतिमा नेकपाको श्रद्धाञ्जली सभा

विकल्प न्यूज/बेनी माघ २८ गते ।

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई ललितपुरमा बसोबास गर्दै आएर गत माघ १५ गते दिवंगत हुनुभएका दम्पती हस्त र नेत्रकुमारी गर्वुजा (थापा) को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी रघुगंगा गाउँकमिटिको आयोजनामा मंगलवार दिवंगत दम्पतीको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको हो ।

ललितपुर–१४ सातदोबाटोको विशालचोकमा रहेको फिट एण्ड फाइन एरोबिक फिटनेस जिम सेन्टरमा साउनामा वाफ लिन गएका दम्पतीको निसास्सीएर निधन भएको थियो । पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव समेत रहनुभएका हस्त थापा नेकपा रघुगंगा गाउँ संगठन कमिटीका सदस्य एवम् विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत क्रियाशिल रहेर मानविय सेवा, सामाजिक कार्य र विकास निर्माणका योजना भित्र्याउने कार्यहरुमा समेत सक्रिय हुनुहुन्थ्यो ।

श्रद्धाञ्जली सभामा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले दिवंगत दम्पतीको निधनले पार्टी र सिंगो समाजलाई नै ठुलो क्षति पुगेको बताउँदै विकासप्रेमी र सामाजिक भावना बोकेका दिवंगत दम्पतीको आत्माको चिर शान्तिको कामना गर्नुभयो । कार्यक्रममा नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी र गम पुनले दिवंगत थापा दम्पतीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा दिवंगत दम्पतीको तस्बिरमा फुल चढाएर श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोकाकुल परिवारजनमा धैर्यधारणको कामना गरिएको थियो । आफ्नो परिवारमा आईपरेको अकल्पनीय दुखत घटनाको पिडालाई कम गराउन सान्त्वना दिनको लागि नेकपा रघुगंगा गाउँकमिटीले श्रद्धाञ्जली सभा राखेकोमा दिवंगत थापाका दाजु दुत गर्वुजाले धन्यबाद दिनुभएको थियो ।

दिवंगत दम्पतीको सम्झनामा हरेक बर्ष समाजमा सामाजिक कार्यहरु गर्ने गरि उनीहरुको समाजप्रतिको योगदानलाई जिबन्त तुल्याउने प्रयास गरिने नेकपा रघुगंगा गाउँकमिटीका अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीको अध्यक्षता र सचिब हरि भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।