मंगलामा फागुन १ देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी
माघ २४ गते ।

मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा फागुन १ गतेदेखि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिने भएको छ । मंगला गाउँपालिकाको मुल आयोजनामा फागुन १ देखि ३ गतेसम्म प्रतियागिता सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतियोगितामा गाउँपालिकाभित्र रहेका मावि तहसम्म पठनपाठन हुने विद्यालयहरुले सहभागीता जनाउनेछन् । प्रतियोगितामा सहभागी जनाउन इच्छुक आधारभुत तहका विद्यालयहरुलाई समेत समावेश गराउने गाउँपालिकाले जनाएको छ ।

मंगला मावि र मालिका जनहित बोडिङ स्कुलमा सञ्चालन हुने प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितालाई सफल बनाउन गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको संयोजकत्मा मुल समिति र सिजन रोकाको संयोजकत्वमा कार्यसम्पादन उपसमिति गठन गरी तयारी थालिएको छ ।