मालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू

विकल्प न्युज / बेनी
म्याग्दी २२ माघ ।
म्याग्दीको मालिका गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ माध्यमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको गाउँपालिकाको केन्द्र दरबाङमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले विद्यार्थीहरुमा रहेको खेलप्रतिभाको पहिचान र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए ।

उनले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउन पाउने भएकाले अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे ।

माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई नगद रु ५५ हजार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।


त्यसैगरि प्रतियोगितामा द्धितियलाई नगद रु ४० हजार र तितृयलाई नगद रु २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिए ।

प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ विभिन्न १५ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यामा प्रथम द्धितिय र तितृय हुनेलाई क्रमशः नगद रु १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार दिईने गाउँपालिकाका शिक्षा शाखा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ बिटालुले प्रतियोगितामा अनुशासित पूर्वक आफ्नो खेलकौसल देखाउन विद्यार्थीहरुलाई आग्रह गर्दै प्रतियोगितालाई शान्त तवरले सम्पन्न गर्न सबै पक्षबाट रचनात्मक सहयोगको लागि आह्वान गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको छात्रतर्फ भिम माविका सुजन घर्ति प्रथम, किसानी माविका कमल गुरुङ द्धितिय र जनप्रिय माविका दिनेश घिमिरे तितृय तथा छात्रातर्फ भिम माविका सरिता घर्ति प्रथम, किसानी माविका सुनिता रोका द्धितिय र जनप्रिय माविका रमा शाहसंकर तितृय हुन सफल भएका छन् ।

उनीहरुलाई कार्यक्रममा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, प्रतियोगिताका संयोजक सन्तनाथ जैसी, म्याग्दी उद्योग बाणिज्य संघ दरबाङ इकाईका अध्यक्ष गोविन सिउँथानी, जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष विटालुको स्वागत र बिमल शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।