ताजा समाचार:
Search

अन्नपूर्णका मगर समुदायको पुख्र्यौली नृत्य (फोटोफिचर)

विकल्प न्यूज /बेनी
माघ १९ गते ।

अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडा अध्यक्ष कम्मरमा मादल भिरेर नाच्दै हुनुहुन्थ्यो । गाउँका पाका तथा युवा पुस्ता पनि उहाँलाई साथ दिन पुख्र्यौलीमा नाच्दै थिए । पुख्र्यौली नृत्यले महोत्सव स्थल घन्किएको थियो । महोत्सवका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुख्र्यौली नृत्यलाई चासोका साथ हेरिरहनुभएको थियो ।

अन्नपूर्ण पर्यटन महोत्सवका अवसरमा नारच्याङका मगर समुदायले परम्परागत संस्कृतिको रुप रहेको सोरठी र पुख्र्यौली नृत्य देखाएका थिए । पाका पुस्ता मात्र होइन युवा पुस्ता पनि पुख्र्यौलीमा छमछमी नाचेका थिए ।

महिला र पुरुषहरुले सोरठी भाका गाएका थिए । पुरुषहरु महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बनेर नाचेका थिए । केही पुरुषहरु शिरमा फेटा टोपी, भोटो, खादी भांग्रा र कम्मरमा मादल भिरेर मादले बनेर (मादले मारुनी) नाच देखाएका थिए ।

सोरठी गीतको भाकामा मादलको तालमा नाचिने सो नृत्य मगर समुदायको विवाह, वर्तबन्ध, क्षवर लगायतमा शुभकार्यहरुमा अनिवार्य देखाउने चलन छ । गाउँमा आयोजना गरिने मेला महोत्सव र अन्य कार्यक्रमहरुमा पनि मगरसमुदायले पुख्र्यौली नृत्य देखाउने प्रचलन छ । पछिल्लो समय पुख्र्यौली नृत्यको संरक्षणमा युवापुस्ता जुटेको नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले बताउनुभयो ।

म्याग्दीको हिस्तान, राम्चे, नारच्याङ्, शिख, काफलडाँडा, नागी, रिम, निस्कोट, औल, घराम्दी, दोसल्ले, खिवाङ, दग्नाम, चिमखोला, लगायतका ठाउँमा नयाँ पुस्ताहरुले पुख्र्यौली नाच नाच्न थालेका छन् । केही बर्ष अघि सम्म बुढापाकाहरु मात्रै नाच्न सक्ने भएपनि पछिल्लो समय युवाहरु समेत पुख्र्यौलीमा सहभागी हुन थालेको नारच्याङका वडा अध्यक्ष फगामीले बताउनुभयो ।