म्याग्दीको पश्चिम भेगका ७ स्थानमा पक्की पुल बन्दै

ठाकुरप्रसाद आचार्य/बेनी
माघ १३ गते ।
जिल्लाको पश्चिम भेगका वस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुलहरु निर्माण हुनथालेका छन् । संघिय र प्रदेश सरकारले गरी म्याग्दीखोला भेगका ७ स्थानमा मोटरेबल पुल बन्न थालेका हुन । केही वर्ष भित्र ति स्थानहरुमा पक्की पुल निर्माण भई वस्तीहरु सडक सञ्जालसँग सिधा जोडीने छन् ।
संघीय सरकार अन्तर्गत रहेको सडक डिभिजन कार्यालय बागलुङले म्याग्दी खोलामा दुइवटा पक्की पुल निर्माण गर्दै छ । भने प्रदेश अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीद्धारा पाँच स्थानमा पुल निर्माण हुनेछन् ।

बेनी नगरपालिका ४ सिंगा देखि मंगला गाउँपालिकाको वडा नम्बर ३ वरंजालाई जोडन् गरी निर्माण गर्न लागिएको पुलले वरंजाको वस्तीलाई सडक सञ्जालसँग जोड्ने छ । एकवर्ष अघि सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत निर्माण थालेको उक्त पुलको अहिले सम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ । कुल लागत १० करोड ७२ लाख १२ हजार ४ सय तिन रुपैयाँमा लुम्बीनी प्राकृतिक जेभी सँग २०७७ जेठ २५ मा सक्ने गरी २०७५ जेठ २५ मा ठेक्का सम्भौता भएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर तथा सूचना अधिकारी मुकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुलको लम्बाई एकसय ५ मिटर हुने छ । म्याग्दी खोलाको वारीपारी र विचमा गरी ४ वटा पिल्लर हुनेछन् । ठेकेदारले पुल निर्माणलाई तिव्रता दिएपनि सम्झौता अवधिमा निर्माण नहुने र ६ महिना म्याद थपिने उहाँले बताउनुभयो । पुल निर्माणको अवस्थालाई हेर्दा सन्तोषजनक देखिएकाले एकवर्ष भित्र पुल सम्पन्न हुने उहाँले बताउनुभयो । यो स्थानमा पुल निर्माण पछि बरंजाको ठूलो वस्ती लाभान्वित हुनेछ । वरंजामा उत्पादन भएका कृषि उपजलाई बजारीकरण गर्न सहयोग मिल्ने अपेक्षा गरिएको मंगला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कविन्द्र रोकाले बताउनुभयो ।

यसैगरी मंगला गाउँपालिकाको केन्द्र बावियाचौर देखि वडा नम्बर ५ अर्मनलाई सडक यातायात सँग जोड्ने गरी ११ करोड २४ लाख २५ हजार ५२ रुपैयाँमा म्याग्दीखोलामा पक्की पुल निर्माण थालिएको छ ।

दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बीनी प्राकृतिक जेभी सँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । यो पुलको लम्बाई ८० मिटर हुने छ । कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ४० प्रतिशत छ । आगमी एकवर्ष भित्र निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ । पुल निर्माण पछि अर्मनको ठूलो वस्ती सडक सञ्जाल सँग सिधा जोडिने छ । अर्मनमा उत्पादन भएको कृषि उपजलाई बजारसम्म पु¥याउन र स्थानीयवासीहरु आवतजावत गर्न सहयोग पुग्ने वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो । साथै यो पुलले बागलुङको ताराखोला सम्मका स्थानीयवासीहरु पनि लाभान्वित हुने उहाँले बताउनुभयो ।
म्याग्दीखोलामा पुल नहुँदा गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउन अर्मनवासीले सास्ती भोग्नुपरेको थियो । पुल बनेपछि स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो । गाउँपालिकाले अहिले वडा नं ३ र ४ बरङ्जा तथा ५ अर्मनलाई गाउँपालिकासँग सिधा सडक सञ्जालले जोड्न ग्रामिण सडक निर्माण गरेको छ ।

यसै गरी धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुईवटा मोटरेबल पुल निर्माण थालिएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण थालेको छ । मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल बन्ने छ ।
मालिका–५ र धवलागिरि–७ को सिमाना फेदीखोलामा १८ मिटर लामो पुल निर्माण हुनलागेको हो । भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीले छ करोड २४ लाख २३ हजारमा ठेक्का लिएको छ ।

यस्तै फेदीखोलाको पुल बनाउन इन्द्रेणी फेवा जेभीले एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएपनि निर्माणधिन जलविद्युत आयोजनाका कारण पुल ढुवानमा पर्ने समस्या भएकाले पुलको पुन डिजाइन गरी निर्माण कायलाई आगडी बढाउने तयारी भएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाले बताउनुभयो ।
उहाँका अनुसार भारवाङघाटको पुल १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भई कार्यस्थलमा निर्माण कम्पनी खटिएको छ । यो पुल प्रिस्टे«स र फेदीको पुल टिबिएम प्रविधिको हो । बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम हुँदै मुनासम्म सडक निर्माण भएको छ । पुल निर्माण भएपछि दरवाङ देखि मुना सम्म सिधा सडक यातायात सञ्चालन हुने छ । दाङ खोलामा बन्ने पुलले ताकमको ठूलो वस्तीलाई सडक सञ्जाल सँग जोड्न सहयोग मिल्ने छ ।

पुल निर्माण भएपछि ति भेगहरुमा बाह्ै महिना नियमित सवारी सञ्चालन गर्न सकिनेछ । यस्तै अन्य तिन स्थानमा नयाँ पुल बनाउने तयारी थालिएको छ । बिम देखि मराङ जोड्ने अर्कलामा पक्की पुल बन्ने भएको छ । पुलको डिजाइन स्टिमेट तयार भएको कार्यालयले जनाएको छ । यसैगरी छिसबाङको वस्तीलाई मालिका गाउँपालिकाको केन्द्र दरवाङ सँग जोड्न छ्याछ्यारे स्थित म्याग्दीखोला माथि पक्की पुल निर्माणका लागि पनि डिजाइन स्टिमेट तयार भएको छ । यता बेनी नगरपालिका सिंगा देखि आगेबगर जोड्का लागि म्याग्दी खोलामा पक्की पुल बनाउनका लागि डिजाइन सर्वेको काम अगाडी बढेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ढुङ्गानाले बताउनुभयो ।

ग्रामिण वस्तीहरुलाई सडक सञ्जाल सँग जोड्ने गरी आवश्यक पर्ने स्थानमा पक्की पुल निर्माणका लागि जिल्लाले सिफारिस गरी पठाएका योजनालाई संघ र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो । पुल निर्माणले ति वस्तीहरुको जिवनयापनमा सकरात्मक परिवर्तन आउने र आर्थिक विकासमा टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तस्विर
मंगला गाउँपालिका केन्द्र बावियाचौर देखि ५ नम्बर वडा अर्मन जोडने निर्माणधिन पुल ।