म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवाल निर्वाचित

विकल्प न्यूज/बेनी
माघ ११ गते ।  म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष बेनीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । अध्यक्ष चयनका लागि शनिबार जेसिज सचिवालयमा भएको मतदानमा बरुवालले ४१  मत प्राप्त गरी बिजयी भएको निर्वाचन समितिका आयुक्त कमल विश्वकर्माले जानकारी दिनुभयो । बरुवालका प्रतिस्पर्धी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको छ ।

एक मत बदर भएकाे छ । ६० जना मतदाता रहेकोमा ५५ मत खसेको थियो । गत पुस २६ गते आयोजना गरिएको २१ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुननसकेपछि मतदान प्रक्रियाबाट अध्यक्ष चयन गरिएको हो । 

निर्वाचित बरुवाल सन २०१४ देखि जेसिजमा आवद्ध भई जेसिज अभियानमा सक्रिय हुनुहुन्छ । उहाँ सन २०१९ को कार्यकारीणी उपाध्यक्ष समेत हुनुहुन्थ्यो । जेसिज अभियानलाई उचाईमा पु¥याउने बरुवालको संकल्प गर्नुभएको छ । निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै बरुवालले सवैलाई मिलाएर जेसिज अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजमा रहेका युवाहरुको नेतृत्व तथा क्षमता विकासका लागि तालिमको व्यवस्था,जेसिजले थालिनी गरेको पुराना कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने,भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा सहयोग गर्ने योजना बरुवालले अघि सार्नुभएको छ । यस्तै बरुवालले सचिवालय व्यवस्थापन,युवा महिला लक्षित कार्यक्रमहरु,जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयमा रचनात्मक कार्यहरु गर्ने बरुवालले योजना अघि सार्नुभएको छ । साथै जेसिज अभियानलाई गाउँपालिका तथा नगरपालिकामा प्रभावकारी रुपमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसअघि अध्यक्ष पदमा भरत रकाल र विरेन्द्र श्रेष्ठले दावी गर्दै आएपनि शुक्रबार उम्मेदावारी फिर्ता लिए सँगै बरुवाल र श्रेष्ठ विच शनिबार मतदान भएको हो । १७ सदस्यीय शाखामा ७ जना प्रत्यक्ष र ८ जना मनोनित हुने व्यवस्था रहेको छ ।

यसै गरी अधिवेशनबाट कार्यकारीणी उपाध्यक्षमा हरि भण्डारी र सन्दीप खत्री चयन हुनुभएको छ । उपाध्यक्षहरुमा दिनेश कुमार विश्वकर्मा,सुनिा श्रेष्ठ,कुमार बानियाँ र इन्द्र बहादुर विश्वकर्मा  चयन भएको जेसिजले जनाएको छ ।

जेसीजमा अध्यक्ष, कार्यकारीणी उपाध्यक्ष २, उपाध्यक्ष ४ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ भने कानुनी सल्लाहकार, बरिष्ठ कार्यकारीणी उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष, सह–सचिब,सह–कोषाध्यक्ष र शाखा सम्पादक अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।