म्याग्दी जेसीजको इतिहासमा अध्यक्ष चयनका लागि पहिलोपटक आज मतदान हुँदै

विकल्प न्यूज/बेनी
माघ ११ गते ।   म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया थालिएको छ । अध्यक्षका दुई प्रतिस्पर्धी सुजन बरुवाल र शैलेश श्रेष्ठका विच आज मतदान हुन लागेको हो ।
गत पुस २६ गते आयोजना गरिएको २१ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुननसकेपछि मतदान प्रक्रिया थालिएको जेसिजले जनाएको छ ।

६० जना शाखा सदस्यहरु रहेको म्याग्दी जेसिजले पहिलो पटक मतदानद्धारा अध्यक्ष चयन गर्न लागेको निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष कमल विश्वकर्माले जानकारी दिनुभयो । बरुवाल र श्रेष्ठका विच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । दुवै युवाहरु जेसिजमा आवद्ध भएर लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । २००८ देखि जेसिजमा आवद्ध भएर विभिन्न पदहरुमा रहेर जेसिज अभियानमा सक्रिय भएर लाग्नुभएका श्रेष्ठले जेसिज अभियानलाई थप परिस्कृत गर्दै लैजाने योजना अघि सार्नुभएको छ ।

युवाहरुको क्षमता विकासका लागि विभिन्न तालिमहरुको आयोजना,भ्रमणवर्षलाई सफल बनाउने खालका कार्यक्रमहरु,गाउपालिका र नगरपालिका सँग समन्वय गरेर युवाहरुको नेतृत्व तथा क्षमता विकासका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर जेसिज अभियानलाई सञ्चालन गर्ने बताउनुभयो ।  यस्तै अर्को प्रतिस्पर्धी सुजन बरुवाल सन २०१४ देखि जेसिजमा आवद्ध भई जेसिज अभियानमा सक्रिय हुनुहुन्छ । उहाँ सन २०१९ को कार्यकारीणी उपाध्यक्ष समेत हुनुहुन्छ ।

जेसिज अभियानलाई उचाईमा पु¥याउने बरुवालको संकल्प छ । समाजमा रहेका युवाहरुको नेतृत्व तथा क्षमता विकासका लागि तालिमको व्यवस्था,जेसिजले थालिनी गरेको पुराना कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने,भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा सहयोग गर्ने योजना बरुवालले अघि सार्नुभएको छ ।

यस्तै बरुवालले सचिवालय व्यवस्थापन,युवा महिला लक्षित कार्यक्रमहरु,जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयमा रचनात्मक कार्यहरु गर्ने बरुवालले योजना अघि सार्नुभएको छ । साथै जेसिज अभियानलाई गाउँपालिका तथा नगरपालिकामा प्रभावकारी रुपमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसअघि अध्यक्ष पदमा भरत रकाल र विरेन्द्र श्रेष्ठले दावी गर्दै आएपनि शुक्रबार उम्मेदावारी फिर्ता लिए सँगै बरुवाल र श्रेष्ठ विच शनिबार मतदान हुनलागेको हो ।
१७ सदस्यीय शाखामा ७ जना प्रत्यक्ष र ८ जना मनोनित हुने व्यवस्था रहेको छ । अध्यक्ष बाहेकका अन्य पदहरुमा सहमति भएको जेसिजले जनाएको छ ।
जेसीजमा अध्यक्ष, कार्यकारीणी उपाध्यक्ष २, उपाध्यक्ष ४ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ भने कानुनी सल्लाहकार, बरिष्ठ कार्यकारीणी उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष, सह–सचिब,सह–कोषाध्यक्ष र शाखा सम्पादक अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था रहेको शाखा अध्यक्ष खमथापा मगरले जानकारी दिनुभयो ।

मतदानलाई सभ्य,शान्त र मैत्रीपुर्ण तरिकाले सम्पन्न गर्न शनिबार विहान निर्वाचन समितिको वैठकले जेसिज सदस्यहरुमा अनुरोध गरेको छ । मतदान आज १ बजे देखि सुरु हुने जनाइएको छ ।