माघ १६ देखि नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव

विकल्प न्यूज/बेनी
माघ ९ गते ।  
सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि म्याग्दीको नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ ।

अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको हो ।

माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेशीगाउमा महोत्सवसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

‘ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका छौ,’ अध्यक्ष पुनले भन्नुभयो ‘नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो ।’

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो । आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा समेत तयार पारिएको छ ।

अध्यक्ष पुनको संयोजकत्वमा मुल र विभिन्न उपसमिति गठन गरेर महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाइएको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

स्थानीय अन्नपूर्ण युवा क्लवको समन्वयमा महोत्सव स्थलमा पूर्वाधार निर्माण सुरु भएको छ । महोत्सवसंगै वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले बताउनुभयो ।

ती सबै प्रतियोगितामा गाउपालिकाका ८ वटै वडाको सहभागिता हुने भएको छ । पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले बताउनुभयो ।

उपाध्यक्ष केशमाया मगरको संयोजकत्वमा अतिथि सत्कार, स्वास्थ्य संयोजक समुन्द्र बरुवालको संयोजकत्वमा स्वास्थ्य, ८ नम्बर वडाका अध्यक्ष खमबहादुर गर्बुजाको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

महोत्सवलाई सफल बनाउन नारच्याङका आमा समूह, युवा क्लव र टोल सुधार समितिले तयारीलाई तिब्रता दिएका वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । नारच्याङको पर्यटन विकासका लागि महोत्सव र पदमार्ग कोशेढुङ्गा बन्ने उहाको अपेक्षा छ ।

नारच्याङ गाउँदेखि तीन दिनको यात्रामा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम हिमाल र आधार शिविर म्याग्दीमा पर्छ भन्ने विषय ओझेलमा परेको थियो ।

हर्जाेगले अन्नपूर्ण हिमालको आरोहण गरेको तीन वर्षपछि मात्रै सर्वाेच्च चुचुरो सगरमाथामाथि मानव पाइला परेको थियो । त्यसैले अन्नपूर्ण प्रथम हिमाललाई जेठो हिमाल भनिन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको छायामा म्याग्दीको अन्नपूर्ण आधारशिविर परेकाले वर्षौंदेखि यहाँको पर्यटन उद्योग पछि परेको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

‘अन्नपूर्ण हिमालको प्रथम आधार शिविर म्याग्दीमा पर्छ भन्ने तत्थ्य आठ वर्षअघि पत्ता लागेको थियो,’ गुरुङले भन्नुभयो ‘पालिकाले बल्ल यसको महत्व बुझेर चासो दिन थालेकोमा हामी खुसी र उत्साही छौ ।’

यही हिमालको नामबाट अन्नपूर्ण गाउँपालिकाको नामाकरण भएको हो । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो । यो हिमालले म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको छ । अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको भुगोलमा पर्छ ।

तर राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा अन्नपूर्ण हिमाल कास्कीमा पर्ने भनेर प्रचार भएकाले सोही अनुसारको बुझाई र भ्रम छ । भ्रम चिर्न नसक्दा म्याग्दी जिल्लाले अन्नपूर्ण हिमालबाट लाभ लिन नसकेको गुरुङले बताउनुभयो ।

पछिल्लो केही वर्षयता नारच्याङका बासिन्दाको पहलमा आधार शिविरसम्म पदमार्गले जोडिएको छ । यसअघि मुस्ताङको ताक्लुङ हुदै जंगल, भिर, पहराको जोखिमयुक्त बाटोमा करिब एक हप्ता पैदल हिडेर अन्नपूर्ण आधार शिविर पुग्नुपर्दथ्यो ।
वि.स २०६८ मा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष गुरुङको नेतृत्वमा नारच्याङका बासिन्दाले निलगिरि खोलाको किनारै किनार आधार शिविर पुग्ने पदमार्ग पहिचान गरेका थिए । बाटो र विभिन्न खोलाहरुमा झोलुङ्गे पुल बनाएर तीन वर्षअघि नारच्याङ देखि अन्नपूर्ण आधार शिविरलाई पदमार्गले जोडिएको थियो ।

अहिले यो पदमार्ग स्तरोन्नती गरेर सहज र सुरक्षित रुपमा आवत जावत गर्ने बनाउन लागिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । पदमार्गमा आवासगृह, खानेपानी, झोलुङ्गे पुल लगायत पूर्वाधार तयार पारेर हेलीकप्टरबाट जाने पर्यटक र आरोहीलाई पैदलमार्गबाट पु¥याउने तयारी गरिएको उहाँले बताउनुभयो ।

‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र पर्यटन मन्त्रालयको सहयोगमा खोलिएको पदमार्ग सुधार र पूर्वाधार विस्तारमा प्राथमिकता दिएका छौ,’ फगामीले भन्नुभयो । होटल तथा लजको सुबिधा नभएकाले क्याम्पीङ गर्नुपर्ने बाध्यता छ । वर्षमा १० देखि १५ समूह आरोहणका लागि अन्नपूर्ण आधार शिविर पुग्छन् ।

आधार शिविरमा रहेको पञ्चकुण्ड नारच्याङ हिमतालको अर्को आकर्षण हो । पदयात्राबाट उच्च हिमालको दृश्यावलोकनका साथै हिमताल र विभिन्न वनस्पति, चराचुरुंगी पनि अवलोकन गर्न सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषी बरालले बताउनुभयो ।

क्याम्पीङ पदयात्राका लागि अन्नपूर्ण आधार शिविर नयाँ गन्तब्यको रुपमा विकास हुन सक्ने उहाँको भनाई छ ।