जापानबाट फर्केर करोड लगानीमा रत्नेचौरमा पशुपालन (भिडियो)

विकल्प न्यूज/बेनी

माघ ८ गते । बागलुङ बजारवासी सुनिल श्रेष्ठले बेनी नगरपालिका १ रत्नेचौरमा एककरोड रुपैयाँ भन्दा वढी लगानी गरेर व्यवस्थित रुपमा पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएको छ ।

रोजगारीको शिलशिलामा जापान पुग्नुभएका श्रेष्ठ भिषा नसकिँदै दुइवर्षमा स्वदेश फर्किएर पशुपालन व्यवसाय सुरु गर्नुभएको हो । जापानमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने सोचले स्वदेश फर्किएको उहाँले बताउनुभएको छ । रत्नेचौरको भुगाने भन्ने ठाउँमा ३५ रोपनी जग्गा भाडामा लिएर पशुपालन व्यवसाय सुरु गर्नुभएको छ ।

धौलागिरि पशु तथा कृषि फार्म दर्ता गर्नुभएका श्रेष्ठले आगमी दिनमा व्यवसायलाई विस्तार गरी सवाँ तिनकरोड रुपैयाँ सम्म लगानी गर्ने सोच बनाउनुभएको छ । कुखुरा,बंगुर,बाख्रपालन र रिर्सोट खोल्ने योजना भएको उहाँले सुनाउनुभयो । जापानमा हुँदा गाई फार्ममा काम गरेको बताउनुहुँने श्रेष्ठले विदेशमा गर्ने परिश्रम स्वदेशमै गरे राम्रो पैसा कमाउन सकिने संभावना देखेर फर्किएको उहाँले बताउनुभयो । उहाँको फार्ममा अहिले १६ वटा उन्नतजातका भैंसी र ७ वटा गाई छन् ।

निकट भविष्यमै उहाँले यसलाई बढाएर दुइसय सम्म भैंसी पाल्ने योजना बनाउनुभएको छ । उत्पादीत दुधलाई म्याग्दी,बागलुङ र पर्वतको सदरमुकाम सम्म पु¥याउने योजना उहाँको छ । धौलागिरिमै नमुना फार्म सञ्चालन गरेर कृषिमा पनि संभावना छ भन्ने उदाहरण प्रस्तुत गरेर देखाउने उहाँले सुनाउनुभयो । रोजगारी नपाएर विदेश जाने युवाहरुलई उहाँले तालिम र रोजगारी पनि दिने बताउनुभयो । वेरोजगार छु भन्छ भने म रोजगारी दिन्छु उहाँले भन्नुभयो ।