गलेश्वरमा निर्माण हुने सामुदायिक भवनको सांसद थापाद्धारा शिलान्यास

विकल्प न्यूज/बेनी
माघ ४ गते ।   जिल्लाको पवित्र धार्मिक स्थल गलेश्वरधाममा सामुदायिक भवन निर्माण सुरु गरिएको छ । शनिबार प्रतिनिधिसभाका सांसद भुपेन्द्र वहादुर थापाले भवनको शिलान्यास गर्नुभएको छ ।

चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट नयाँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो । बेनी नगरपालिका मार्फत कार्यान्वयन हुने गरी एकतलाको ४ कोठे भवन निर्माण गर्न लागिएको गलेश्वर क्षेत्रविकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद थापाले गलेश्वरमा भौतिक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटक भित्राउनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धार्मिक पर्यटकले थप टेवा मिल्ने उहाँको भनाई थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसीले गलेश्वर,सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी र सामुदायिक प्रहरी सेवा केन्द्र बेनीका प्रमुख बिष्णु गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

५६ लाख ७७ हजार पाँचसय ७२ रुपैयाँ कुल लागत अनुमान गरिएको भवनमा कोषको तर्फबाट नौ लाख २७ हजार पाँचसय ७२ रुपैया ब्यहोर्नुपर्ने सम्झौता भएको छ ।कोषका अध्यक्ष केसीको अध्यक्षता, उपाध्यक्ष भिमनाथ पराजुलीको स्वागत र सदस्य सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।