मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गलेश्वर आदर्श प्रथम

विकल्प न्यूज/बेनी
माघ ४ गते । म्याग्दीबाट काठमाण्डौं गएर विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्था म्याग्देली विद्यार्थी परिवारले बेनीमा आयोजना गरेको जिल्ला स्तरीय मावि तह हाजिरी जवाफ प्रतियोगितामा बेनी नगरपालिका ९ को गलेश्वर आदर्श आवाशीय माविले प्रथम स्थान हासिल गरेको छ ।
बेनीमा शनिबार भएको प्रतियोगिताको फाइनलमा एकसय ६० अंक प्राप्त गर्दै गलेश्वर आदर्श प्रथम भएको हो । गलेश्वर आदर्शबाट कक्षा १० की जेनिसा र ९ का जेनिस सुवेदीले सहभागिता जनाएका थिए ।  यसैगरी १२० अंक प्राप्त गर्दै बेनीको न्यु वेष्ट प्वाईन्ट मावि द्धितिय, रघुगंगा गाउँपालिका १ को महादेव मावि बेग तृतिय र डनीङ इग्लिस बोडीङ्ग स्कुल बाबियाचौर सान्तवना भएका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने विद्यालयले क्रमश ः २० हजार, १२ हजार,सात हजार र चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

माघ तिन गते बावियाचौर र गलेश्वरमा पहिलो चरणको हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो । पहिलो चरणको प्रतियोगितामा ३४ विद्यालयले सहभागिता जनाएका थिए । पहिलो चरणबाट छनौंट भएका १० विद्यालयहरु विच शनिबार फाइनल प्रतियोगिता गरिएको कार्यक्रम संयोजक मदन सापकोटाले बताउनुभयो । बाबियाचौरमा मंगला, मालिका र धवलागिरी तथा गलेश्वरमा बेनी नगरपालिका, रघुगंगा गाउपालिका र अन्नपूर्ण गाउपालिकाका १७÷१७ वटा विद्यालयबीच भएको प्रतियोगिताबाट छनौट भएका ५/५ वटा विद्यालयलाई फाइनलमा सहभागि गराइएको उहाँले बताउनुभयो । बिजयी विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृतिको व्यवस्था मिलाइएको म्याग्देली विद्यार्थी परिवारले जनाएको छ । बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा मिल्ने बताउनुभयो । उहाँले यस्ता खालका कार्यक्रमहरु स्थानीय तहले पनि आयोजना गर्नुपर्ने उहाँको सुझाव थियो । कार्यक्रममा संबिधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुन, नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, परिवारका संस्थापक अध्यक्ष शुशिला शेरचन र सल्लाहकार प्रा.डा होमबहादुर बरुवालले काठमाण्डौंमा अध्ययन गर्ने विद्यार्थीहरुले म्याग्दीको शैक्षिक विकासका लागि सिर्जनशिल कार्यक्रम आयोजना गरेको विचार व्यक्त गर्नुभयो । उहाँहरुले यस्ता खालका कार्यक्रमहरुले विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
म्याग्देली विद्यार्थी परिवारका अध्यक्ष केशरी शर्माको अध्यक्षता, सचिव सरिता थापा, सदस्य सन्दिप निउरेको सञ्चालन र कार्यक्रम संयोजक मदन सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।