मंगलामा करिब ८ करोड भन्दा वढीका योजना कार्यान्वयनको तयारीमा

विकल्प न्यूज/बेनी
पुस २ गते । जिल्लाको मंगला गाउँपालिकामा संघ,प्रदेश र गाउँपालिकाका गरी करिब ८ करोड भन्दा वढीका ठूला योजना कार्यान्वयनको तयारीमा रहेका छन् । चालु आर्थिक वर्षमा मंगलामा संघीय सरकारको समपुरक बजेट,प्रदेशको सर्सत अनुदान,स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिका गरी पूर्वाधार विकासमा ७ करोड ७६ लाख विनियोजन भएको छ ।

पोक सातविशे बंरजा सडकका लागि २ करोड ६६ लाख विनियोजन भएको छ । सडक फराकिलो र स्तरउन्नती गर्ने योजनाका लागि संघीय सरकारको समपुरक बजेट एक करोड ३३ लाख र उक्त योजनामा गाउँपालिकाले एक करोड ३३ लाख गरी दुई करोड ६६ लाखमा सडक फराकिलो सहित स्तरउन्नती गर्ने योजना कार्यान्वयनको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसै गरी गाउँपालिकाको केन्द्र बावियाचौर सडक कालोपत्रे योजनाका लागि प्रदेशको सर्सत अनुदान एक करोड र गाउँपालिकाले १० लाख गरी एककरोड १० लाखको योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

यसैगरी पोक देखि नेटा–अर्मन किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक फराकिलो सहित स्तरउन्नतीका लागि संघिय सरकारको करोड र प्रदेशको एककरोड पचास लाख गरी दुई करोड पचास लाख रुपैयाँ बिनियोजन भई काम सुरु भएको योजना शाखाका सिजन रोकाले बताउनुभयो ।

एक करोड रुपैयाँ लागतमा ४ नम्बर वडा कार्यालयको भवन निर्माणको योजना अघि वढेको छ । भवन बनाउन तत्कालिन जिसस कोषको ६० लाख र गाउँपालिकाले ४० लाख विनियोजन गरेको छ ।

यसैगरी मंगला शिक्षा क्याम्पसमा एककरोड रुपैयाँ लागतमा नयाँ भवन बनाउने योजना सञ्चालनको तयारीमा छ । सांसदको स्थानीय पूर्वाधार विकास योजना मार्फत ७० लाख र गाउँपालिकाले ३० बजेट विनियोजन भएको छ ।

यसैगरी सिम कोत्राबाङ हुँदै टोड्के पुग्ने सडकका लागि गाउँपालिकाले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरी कार्यान्वयनको चरणमा छ ।

भाईवाङ हिदी सडक पचास लाख, ५ नम्बर वडा अर्मनको पुलचोक देखि अर्मन गाउँ जोड्ने सडक स्तरउन्नती योजनाका लागि पचास लाख र बावियाचौर ढल निर्माण २५ लाख रुपैयाँ विनियोजन गरी योजना कार्यान्वयनको चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।

संघीयता कार्यान्वनय सँगै गाउँगाउँमा करोडौंका योजनाहरु भित्रिन थालेपछि स्थानीयवासीहरु उत्साहित भएको उहाँले बताउनुभयो । जनप्रतिनिधि,उपभोक्ता समिति र कर्मचारीहरु योजना कार्यान्वयनमा सक्रिय भएर जुटेको उहाँको भनाई छ ।