म्याग्दीका स्थानीय तहमा योजना कार्यान्वयन तिव्र

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
माघ २ गते


जिल्लाका स्थानीय तहहरु चालु अािर्थक वर्षमा विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वनयमा जुटेका छन् । दोस्रो चौमासिक सुरु भएसँगै स्थानीय तहहरुमा योजना कार्यान्वनयले तिव्रता पाउन थालेको हो । एक नगरपालिका सहित ६ वटा स्थानीय तहमा चालु आर्थिक वर्षमा पूर्वाधार तर्फका साना ठूला गरी करिब एकहजार भन्दा वढी योजनाहरु सञ्चालित छन् ।

ति योजनाहरु उपभोक्ता समिति गठन भई कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । कतिपय ठूला योजनाहरु नगर तथा गाउँपालिकाले टेण्डर मार्फत कार्यान्वयनमा लैजाने तयारी थालेका छन् ।

विकास योजनाहरु कार्यान्वयन हुनथालेपछि स्थानीय स्तरमा रोजगारी सिर्जना भएको छ । संघीयता कार्यान्वयन सँगै गाउँगाउँमा करोडौंका विकास योजनाहरु सञ्चालन हुनथालेपछि नागरिकहरुमा उत्साह थपिएको छ ।

संघ,प्रदेश र स्थानीय तहले विनियोजन गरेको विकास योजनाहरु दिगो र गुणस्तरीय बनाउन जनशहभागिता पनि जुट्ने गरेको जनप्रतिनिधिहरुले बताएका छन् ।

चालु आर्थिक वर्षको सुरुमा जनशक्ति अभावको समस्या भोग्दै आएका स्थानीय तहहरुमा पछिल्लो समय जनशक्तिको व्यवस्थापन सँगै विकास योजनाको कार्यान्वयनले गति लिन थालेको हो ।

चालु आर्थिक वर्षमा पाँचसय ७५ वटा योजना बनाएको बेनी नगरपालिकामा पाँचसय ६४ वटा योजना कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । उपभोक्ता समिति मार्फत सम्पन्न गर्ने योजनाहरु सम्झौता भई कार्यान्वयनको चरणमा प्रवेश गरेका हुन ।

बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा एकलाख सम्मका एकसय ४७,एकलाख देखि पाँचलाख सम्मका तिनसय ३६,पाँचलाख देखि २० लाख सम्मका ७८ र २० लाख भन्दा माथिका १५ वटा योजना बनाएको सूचना अधिकारी युबराज थापाले जानकारी दिनुभयो । पुस महिना सम्म करिब पचासवटा योजना सम्पन्न भइसकेका छन् ।

उहाँका अनुसार ११ वटा योजनाहरु कार्यान्वयनको चरणमा प्रवेश गरेका छैनन् । असारे विकासलाई निरुत्साहित गर्दै जेठ मसान्त सम्म योजनाहरु सम्पन्न गर्ने बेनी नगरले लक्ष्य लिएको छ ।

पूर्वाधार तर्फका एकसय ५९ योजना निर्माण गरेको अन्नपूर्ण गाउँपालिकाले सवै वडामा उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिलाई तालिम सञ्चालन गरिसकेको छ । कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको फेरवदलका कारण योजना कार्यान्वयनमा समस्या आएको सूचना अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

चालु आर्थिक वर्षमा विनियोजन गरेका योजनाहरु जेठमसान्तस सम्ममा सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । २५ लाख भन्दा माथिका योजनाहरुलाई टेण्डर प्रक्रिया मार्फत लैजाने गाउँपालिकाले सोचाई बनाएको उहाँको भनाई छ । चालु आर्थिक वर्षमा टुक्रे योजनालाई निरुत्साहित गरेको रघुगंगगा गाउँपालिकामा एकसय ९ वटा योजना सञ्चालित छन् ।

एक वडा एक गौरबको योजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको रघुगंगामा अहिले सम्म ६१ योजनाको उपभोक्ता समिति गठन भई सम्मझौता गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको योजना शाखा प्रमुख योगेन्द्र बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ वटा योजना सम्पन्न भइसकेका छन् भने १५ योजना सम्पन्न हुने क्रममा रहेका छन् । बैशाख मसान्त सम्ममा सवै योजना सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

यसैगरी जिल्लाको मालिका गाउँपालिकामा पनि योजना कार्यान्वयनले तिव्रता पाउन थालेको छ । प्राविधिक जनशक्तिको अभाव र अन्य प्रशासकीय कर्मचारीको अभावका कारण योजना कार्यान्वयनमा समस्या आएको मालिकामा दोस्रो चौमासिक सँगै योजना कार्यान्वयनमा तिव्ररुपमा अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिनुभयो । मालिकामा चालु आर्थिक वर्षका लागि एकसय २० वटा योजना सञ्चालनमा छन् ।

पुसको अन्तिम सम्म ४० वटा योजनाको सम्झौता भई कार्यान्वयनको चरणमा प्रवेश गरेको प्रशासन अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । मालिकाले बैशाख मसान्त सम्म सवै योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिकामा अझै पनि केही ओभरसियरको पदपुर्ती हुननसक्दा योजना कार्यान्वयनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले बताउनुभयो । उपभोक्ता समितिमा नियम कानुनको अन्यौलता,नयाँ कर्मचारीमा अनुभवको कमि योजना कार्यान्वयनका चुनौती भएको उहाँको बुझाई छ ।

जिल्लाको धौलागिरि गाउँपालिकामा पनि योजना कार्यान्वयनले गति लिन थालेको छ । एकसय ३८ वटा पूर्वाधार तर्फका योजना बनाएको गाउँपालिकाले करिब ७० वटा योजनाको उपभोक्ता समिति गठन गरी सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार १० वटा योजनाका उपभोक्ता समितिले पहिलो किस्ताको रकम भु्क्तानी लिइसकेका छन् । पचास लाख भन्दा माथिका योजनाहरु गाउँपालिकाले टेण्डर प्रक्रियामा लैजाने योजना बनाएको उहाँले बताउनुभयो ।

२ नम्बर वडा कार्यालय लुलाङको भवन,मुना स्वास्थ्य चौकी भवन, वडा नम्बर ७ मा रहेको वन्चरे खानेपानी योजना,नमुना आवाशिय विद्यालय सिवाङ र ताकम हुँदै हिलापोखरी जाने सडकलाई टेण्डर प्रक्रियाबाट निर्माण गर्न गाउँपालिका जुटेको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो । भौगोलिक विकटता र कर्मचारी अभाव,उपभोक्ता समितिमा पुरानो प्रवित्ति योजना कार्यान्वयनका समस्या रहेको उहाँको भनाई छ ।
यता मंगला गाउँपालिकाले चालु आर्थिक वर्षमा एकसय ४३ योजना विनियोजन गरेको गाउँपालिकाले पुस अन्तिम सम्म ५८ वटा योजनाको उपभोक्ता सँग सम्झौता गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको योजना शाखाका सिजन रोकामगरले जानकारी दिनुभयो । उहाँका अनुसार २२ वटा योजनाले पेश्की लगेका छन् ।

जिल्लाभर साना ठूला गरी एकहजार योजना सञ्चालित
अधिकांश योजनाको उपभोक्ता समिति गठन भई कार्यान्यनमा प्रवेश
मंगलामा करिब ८ करोडका योजना कार्यान्वयनको चरणमा
धमाधम योजना कार्यान्वयन हुनथालेपछि स्थानीय स्तरमा रोजगारी सिर्जना
गाउँगाउँमा करोडौंका योजना भित्रिन थालेपछि गाउँलेहरु उत्साहित
अन्नपूर्ण र रघुगंगगामा टुक्रे योजनालाई निरुत्साहित
बेनी नगरमा टुक्रे योजना बढी
भौगोलिक विकटताका कारण धौलागिरिमा योजना कार्यान्वनमा समस्या
सवै स्थानीय तहको जेठ मसान्त भित्र योजना सम्पन्न गर्ने लक्ष्य

मंगलामा चालु आर्थिक वर्षमा केही ठूला योजनाहरु पनि सञ्चालन भएका छन् । संघीय सरकार र प्रदेश र स्थानीय तहको साझेदारीमा करिब ८ करोड भन्दा वढीका योजना सञ्चालनको तयारीमा छन् । पोक सातविशे बंरजा सडकका लागि २ करोड ६६ लाख विनियोजन भएको छ ।
सडक फराकिलो र स्तरउन्नती गर्ने योजनाका लागि संघीय सरकारको समपुरक बजेट एक करोड ३३ लाख र उक्त योजनामा गाउँपालिकाले एक करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उक्त योजना कार्यान्वयनका लागि टेण्डर भइसकेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । यसै गरी गाउँपालिकाको केन्द्र बावियाचौर सडक कालोपत्रे योजनाका लागि प्रदेशको सर्सत अनुदान एक करोड र गाउँपालिकाले १० लाख गरी एककरोड १० लाखको योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

एक करोड रुपैयाँ लागतमा ४ नम्बर वडा कार्यालयको भवन निर्माणको योजना अघि वढेको छ । भवन बनाउन तत्कालिन जिसस कोषको ६० लाख र गाउँपालिकाले ४० लाख विनियोजन गरेको छ । यसैगरी मंगला शिक्षा क्याम्पसमा एककरोड रुपैयाँ लागतमा नयाँ भवन बनाउने योजना सञ्चालनको तयारीमा छ । सांसदको स्थानीय पूर्वाधार विकास योजना मार्फत ७० लाख र गाउँपालिकाले ३० बजेट विनियोजन भएको छ ।
यसैगरी सिम कोत्राबाङ हुँदै टोड्के पुग्ने सडकका लागि गाउँपालिकाले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरी कार्यान्वयनको चरणमा छ ।
भाईवाङ हिदी सडक पचास लाख, ५ नम्बर वडा अर्मनको पुलचोक देखि अर्मन गाउँ जोड्ने सडक स्तरउन्नती योजनाका लागि पचास लाख र बावियाचौर ढल निर्माण २५ लाख रुपैयाँ विनियोजन गरी योजना कार्यान्वयनको चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।

संघीयता कार्यान्वनय सँगै गाउँगाउँमा करोडौंका योजनाहरु भित्रिन थालेपछि स्थानीयवासीहरु उत्साहित भएको उहाँले बताउनुभयो । जनप्रतिनिधि,उपभोक्ता समिति र कर्मचारीहरु योजना कार्यान्वयनमा सक्रिय भएर जुटेको उहाँले बताउनुभयो ।