८० वर्षे कार्लोसको धवलागिरि चुचुरो चुम्ने सपना

बसन्त रानाभाट  ८० वर्षे कार्लोस स्पेनका सफल पर्वतारोही हुन् । उनले ८ हजार मिटर अग्ला १४ वटा हिमालहरुको आरोहण गरिसकेका छन्। ती मध्ये १२ वटा हिमालहरुको चुचुरो चुमिसकेको छन्।

सोरियाले धलागिरि र सिसापाङ्गा हिमालको चुचुरोमा मात्र टेक्न बाँकी छ । कार्लोसले ६० वर्षको उमेरपछि ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालहरु चढेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उने ७५ वर्षको उमेरमा कंचनजंगा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए। सन् २००१ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा समेत पाइला टेकिसकेका छन् ।

तर १०औं पटक प्रयास गर्दा पनि हालसम्म धलागिरि हिमालको चुचुरो चुम्न सकेका छैनन्। धलागिरि आँफैमा सबैभन्दा जटिल हिमाल नभए पनि सोरियाका लागि भने सबैभन्दा ठूलो चुनौती बन्दै आएको छ। सन् १९९८ मा उनको पहिलो प्रयास थियो । सन् २०१९ सम्म आइपुग्दा २० वर्षमा उनको १०औँ पटकको प्रयास पनि असफल रह्यो ।

उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा धवलागिरिको चुचुरो टेक्ने सपना अधुरै छ।

२ वर्षअघि घुँडामा शल्यक्रिया गरेर कृत्रिम अङ्ग राखिएको छ । तर सोरियाको जोश, आँट र अठोट भने उस्तै छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ११ औं पटकको प्रयासमा धवलागिरिको चुचुरो चुम्ने सपना देखेका छन्। पाइला टेकिहालेमा उनले ८१ वर्षको उमेरमा आफ्नो सपना पूरा गर्नेछन्।

सोरियाले मंगलबार म्याड्रिडमा आयोजित एक कार्यक्रमकाबीच धवलागिरि चढ्न पुन: नेपाल जाने उद्घघोष गरेका छन्।

नेपाली राजदूतावास म्याड्रिडद्वारा मंगलबार आयोजित भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा ८० वर्षको उमेरमा पनि हिमाल चढ्न प्रेरित हुनुबारे बोल्दै उनले  ‘हिमालहरु नै आफ्नो बाँच्ने रहर’ भएको प्रतिक्रिया दिए । नेपाल आफ्नो दोस्रो घर बताउँदै नेपालका लागि पर्यटन कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा दर्शाउदै आँफू यसै वर्ष पुन: हिमाल चढ्ने उद्घघोष गरे। झण्डै २५० जना स्पेनिसहरु सहभागी उक्त कार्यक्रममा सोरियाले आफ्नो प्रस्तुतिसहित नेपाल र नेपालका हिमालहरुको स्मरण गरेका थिए। उनीसँग नेपालको एक घनिष्ट र लामो निकटता रहेको छ।

कार्यक्रममा म्याड्रिडस्थित नेपाली आवासीय राजदूत दावा फुटी शेर्पाले पर्वतारोही सोरियालाई धवलागिरिको सफल आरोहणको शुभकामाना दिइन्। राजदूत शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी पनि हुन् ।

उनले भनिन् , ‘धवलागिरिको सफल आरोहणका लागि म सोरियालाई शुभकामाना दिन चाहन्छु। उहाँको हिमाल आरोहणको ५० औं वार्षिकोत्सव पनि हो। साथमा नेपाल भ्रमण वर्ष पनि। उहाँलाई यो विशेष अवसरमा शुभकामाना छ।’

सोरियाले ५० वर्षअघि सन् १९९० मा पाकिस्तानको नंगा पर्वत हिमालको चुचुरो चुम्दै आरोहणयात्रा सुरु गरेका थिए। उनले हिमाल आरोहणको ५० वर्ष पूरा गरेका छन्।

राजदूत शेर्पाले पर्यटकहरुका लागि नेपालमा विविध विकल्पहरु रहेको बताउदै प्रमुख गन्तब्य रहेकोमा जोड दिइन्। नेपालले सबैलाई केही नै केही दिन खोजीरहेको बताउँदै देशको प्राकृतिक तथा साँस्कृतिक विविधताको बारेमा चर्चा गरिन्। नेपाल यात्रा सहज बनाउन म्याड्रिड दूतावास जुनसुकै बेला पनि सहयोग गर्न तयार रहेको राजदूत शेर्पाले बताइन्।

माउन्टेन सोसाइटी पेनेरालाका अध्यक्ष पेड्रो निकोलस पनि कार्यक्रमका वक्ता थिए। उनले स्पेनको माउन्टेन सोसाइटी विविध क्षेत्रका लागि महत्वपूर्ण रहेको बताउँदै म्याड्रिडको दूतावासले नेपाल र स्पेनलाई नजिक ल्याउनेमा विश्वास व्यक्त गरे।

सन् १९१० मा स्थापना भएको ऐतिहासिक सोसल क्लब कासिनो डे म्याड्रिडमा सम्पन्न भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा सहभागीहरु निकै उत्साहित थिए। यो अवसरमा दूतावासले अप्रिलमा हुने सगरमाथा संवादका लागि पर्वतारोही सोरियालाई निमन्त्रणा गरेको छ । onlinekhabar