ताजा समाचार:
Search

बिम मालिका संघद्धारा दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग

विकल्प न्यूज/बेनी
पुस २२ गते ।
बिम मालिका संघले बस दुर्घटनाका घाइते र मृतकका परिवारलाई सोमबार सात लाख ५८ हजार रुपैयाँ सहयोग वितरण गरेको छ ।

कात्तिक १७ गते मालिका गाउपालिका–७ बिमको गलघण्टीमा बस दुर्घटना हुदा ज्यान गुमाएकाको आफन्तलाई राहत र घाइतेहरुको उपचारका लागि संघले आर्थिक सहयोग संकलन गरेको थियो ।

ज्यान गुमाएका ४ जनाका परिवार, शल्यक्रिया गरेका चार जना र लामो समय विश्राम गर्नुपर्ने तीन जना घाइतेहरुलाई चालीस हजार रुपैयाका दरले सहयोग गरिएको संघका सचिव याम फगामीले बताउनुभयो ।

यसैगरी पोखर रिफर गरिएका ११ जना घाइतेहरुलाई १५ हजार रुपैयाँका दरले सहयोग गरेको छ । बेनीमा उपचार गरेका १३ जनालाई पाच हजारका दरले सहयोग गरिएको छ । विभिन्न चार समूहमा विभाजन गरेर सहयोग गरिएको सचिव फगामीले बताउनुभयो ।

चालीस हजार रुपैयाका दरले सहयोग पाउनेहरुमा मृतक सतदेवी भट्टचन, रवी जुग्जाली, आयुषा जुग्जाली र बिष्णु पाण्डेका परिवार छन् । यसैगरी अप्रेशन गरेका पलदेवी, कुष्टिना र आशिष जुग्जाली, लामो समय आराम गर्नुपर्ने घाइतेहरु चन्द्रकली दर्जी, तनदेवी जुग्जाली र राजमान दर्जीलाई चालीस हजारका दरले उपलब्ध गराइएको छ ।

पोखरा रिफर गरिएका बेनी ९ का विसन खत्री, बिमका सुरेश जुग्जाली, भकिम्लीका केशव शर्मा निउरे, बिमका कुशल जुग्जाली जैमीनी ७ बागलुङकी दुर्गा किसान, बिमकी नरदेवी परियार, सपना शेरपुञ्जा, सरु श्रीपाली, होमबहादुर जुग्जाली, ज्योती घले जुग्जाली र सुकमाया सिरपालीले पन्ध्र हजार रुपैयाका दरले सहयोग पाउनुभएको छ ।

पाच हजार रुपैयाका दरले सहयोग पाउने बेनीमा उपचार गराएकाहरुमा बिमका दिलु शेरपुञ्जा, बेनी ४ का गौरव पौडेल, बिजय पौडेल, परमिस पौडेल, बिमका लीला जुग्जाली, लीलमाया बुढा, रमिला खत्री, रइमा जुग्जाली, खगेन पुन, अमर दर्जी, सिममाया घर्ती र पलप्रसाद जुग्जाली रहनुभएको छ ।

विमको वडा कार्यालयमा आयोजित सहयोग तथा राहत हस्तान्तरण कार्यक्रममा बिमका मृगौलारोगी दाम्ले गोतामेलाई पन्ध्र हजार रुपैयाँ सहयोग गरिएको थियो । संघले यसअघि साउदीको जेलमा रहेका दिच्यामका राजकुमार निउरेको घरफिर्तीका लागि ५३ हजार ५०० सहयोग गरेको थियो ।

यस्तै क्याक्सरका बिरामी मिथु गौतम, फोक्सोका बिरामी टेकप्रसाद जुग्जाली, करेन्ट लागेर घाइते भएका समिल जुग्जाली, गाडी दुर्घटनाका घाइते तेजिन्द्र शर्मालाई पन्ध्र हजारका दरले र मंगला गाउपालिकाका मुटुरोगी बलभद्र ढकाललाई दश हजार रुपैया सहयोग गरेको छ ।

संघका अध्यक्ष देउप्रसाद जुग्जाली र सचिव याम फगामीले सहयोग वितरण गर्नुभएको थियो । यसैबीच बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बस दुर्घटनामा दिवंगत छोरीको नाममा संघले उपलब्ध गराएको चालीस हजार रुपैयाँमा व्यक्तिगत रुपमा पाच हजार रुपैया थपेर संघको कोषलाई सहयोग गर्नुभएको छ ।

दुर्घटनामा उहाकी छोरी आयुषाको ज्यान गएको थियो । आगामी दिनमा अन्य दुख, पिडा र आपत् विपद्को अवस्थामा सहयोगका लागि संघको कोषमा जम्मा हुने गरि सहयोग गर्नुभएको हो । सरदेवी भट्टचनकी छोरी ज्ञानु शेरचनले पनि आमाको नाममा संघले उपलब्ध गराएको चालीस हजार किसानी माविलाई सहयोग गर्नुभएको छ ।

संघका अध्यक्ष जुग्जालीले बस दुर्घटनाले दुखित बनाएका स्वदेश तथा विदेशमा बस्ने बिमबासीहरुले स्वसफुर्त रुपमा दश लाख रुपैया जुटाएको र संघको निर्णय अनुसार कसैलाई विभेद नगरी सहयोग गरेको बताउनुभयो ।

बिमबासीहरु आवद्ध संस्था भएपनि बिम भन्दा बाहीरका घाइते र मृतकका आफन्तलाई पनि सहयोग गरेको उहाले बताउनुभयो । बचेको रकम संघको कोषमा राखिएको र आगामी दिनमा सामाजिक कार्यमा परिचालन गरिने बताउनुभयो । सहयोग जुटाउन संघका विदेश विभाग प्रमुख कृष्णप्रसाद जुग्जाली लगायतले प्रवासमा समन्वय गर्र्नुभएको थियो ।

वि.स २०७५ मा विधिवत रुपमा दर्ता भएको बिम मालिका संघमा बिममा जन्मिएर काठमाडौ तथा विदेशमा गएकाहरु आवद्ध छन् । पोखरा र अन्य सहरमा बस्ने बिमबासीहरुलाई पनि संघमा आवद्ध गराउन लागिएको सचिव फगामीले बताउनुभयो । संघले बिमका विभिन्न सामाजिक काममा ३४ लाख रुपैयाँ सहयोग जुटाएको उहाँले बताउनुभयो ।

किसानी माविका शिक्षक सुरमान गर्बुजाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा अध्यक्ष जुग्जालीले बिमको विकासमा स्वदेश तथा विदेशमा रहेका बिमबासीहरुको साथ र सहयोग सदैब आवश्यक रहेको बताउनुभयो ।

आपत्, विपद् मात्र नभएर विकास निर्माणमा पनि सहयोग गरेकोमा धन्यवाद् दिनुभयो । केहीले गाउमा भएका गतिबिधिको बारेमा नकारात्मक टिकाटिप्पणी मात्र गरिरहेको भन्दै उहाँले एकोहोरो आलोचना भन्दा वास्तविकता बुझ्न र सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

छिटो उद्धार गरेर बस दुर्घटनाका घाइतेलाई समयमै अस्पताल पु¥याएकाले घाइतेहरुले उपचार पाएको उहाको भनाई थियो । दरवाङ–बिम सडकको घुम्तीका मोड सुधार तथा फराकीलो बनाउन गाउपालिकाले काम सुरु गरेको जानकारी गराउदै गाडीमा क्षमता भन्दा धेरै यात्रु नचढ्न आग्रह गर्नुभयो ।

विद्युतीय दुर्घटनाको समेत जोखिम बढेकाले जोखिमयुक्त ठाउको पहिचान गर्न र सर्तकता तथा सावधानी अपनाउन स्थानीयबासीलाई आग्रह गर्नुभयो । किसानी मावि बिमका प्रअ जंगबहादुर गर्बुजाले मन्तब्य व्यक्त गर्दै सहयोगदातालाई धन्यवाद दिनुभयो ।