ताजा समाचार:
Search

ताकममा सडक खन्दा पहिरो खसेर चालक सहित डोजर पुरियो

विकल्प न्यूज /बेनी
पुस २१ गते ।
म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीको रानीवनमा सडक निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा चालक सहित डोजर पुरिएको छ ।
ताकमको हिलापोखरीदेखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा सोमबार बिहान १० बजेतिर बाघराज बिल्डर्सको एक्साभेटर सहित चालक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सडक खन्ने क्रममा माथिबाट ढुङ्गा सहितको माटो खसेर डोजरको अधिकांश भाग पुरिएको छ । चालकको अवस्था वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक धवलागिरी गाउँपालिका ४ खिवाङका अन्दाजी ४० वर्षका शेरबहादुर पुन डोजर सहित पुरिएका छन् । पुरिएका चालकको उद्धारका लागि दरवाङ र ताकमकबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । माथिबाट धेरै नै ढुङ्गा सहितको माटोले पुरेका कारण अर्को डोजर लगेर मात्र निकाल्न सकिने प्रहरीले बताएको छ ।