ताजा समाचार:
Search

बेनी–जोमसोम सडकका मजदुरले पारिश्रमिक नपाएपछि आन्दोलित (भिडियोसहित)

विकल्प न्यूज/बेनी
पुस १६ गते ।  राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडकमा काम गर्ने मजदुरहरुले लामो सयमदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन् ।

मजदुरहरुले तलबको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडि प्यालेकार्ड सहित शान्तिपूर्ण धर्नामा बसेका हुन ।
बेनी जोमसोम सडक खण्ड अन्र्तगत गलेश्वर देखि तातोपानी सम्मको सडक स्तरउन्नतीको ठेक्का लिएको ठेकेदार कम्पनी शर्मा एण्ड युनाइटेडले सडकको स्तरउन्नतीमा खटिएका मजदुरहरको करिब सवा करोड रुपैयाँ तलब भुक्तानी गर्न बाँकी रहेको मजदुरहरुले बताएका छन् ।
पटक पटक माग गर्दा पनि नदिएपछि आन्दोलनमा उत्रिनु परेको नेपाल ट्रेड युनियन म्याग्दीका महासचिव अर्जुन रानाले बताउनुभयो । उहाँका अनुसार विगत ६ महिनादेखि मजदुरहरुले पारिश्रमिक पाउन सकेका छैनन् । कम्पनीले एककरोड १२ लाख पचास हजार रुपैयाँ तलब भुक्तानी गर्न बाँकी रहेको मजदुरहरुले बताएका छन् ।

मजदुरहरुले तलबको माग गर्दै मंगलबार तिप्ल्याङ स्थित कम्पनीको साइड अफिसमा तालाबन्दी गरी नारावाजी समेत गरेका थिए ।
पटक पटक तलब दिने आश्वासन पाएपनि तलब नपाएपछि आफूहरु आन्दोलित हुनुपरेको कुमबहादुर बुढाले बताउनुभयो । ६ महिना देखि तलब नपाएको उहाँले गुनासो गर्नुभयो । दैनिक मजदुरी गरेर परिवार पाल्ने गरेको बताउँदै बुढा मगरले भन्नुभयो,लामो समयसम्म तलब नपाउँदा घरखर्ची चलाउन धौधौ भएको छ ।’ तलब नपाएपछि खाना वस्नका लागि निकै समस्या छ उहाँले भन्नुभयो ।

घरखर्ची चलाउन लागेको ऋण तिर्न समस्या भएको रोल्पाबाट मजदुर काम गर्न आउनुभएकी दिलकुमारी वुढाले बताउनुभयो । बच्चा सहित धर्नामा बस्नुभएकी बुढाले भन्नुभयो, ‘ काम गरेको पारिश्रमिक पाउन पनि आन्दोलन गर्नुपर्ने बाध्यता आयो ।’मजदुरहरुलाई पारिश्रमिक दिलाउन प्रशासनले पहल गरेको प्रम्ुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । ठेकेदार कम्पनीका प्रतिनिधि र आयोजना प्रमुखसँग मजदुरको समस्याका वारेमा पटपटक छलफल भएपनि समाधान गर्न समय लागेको उहाँले बताउनुभयो । अव केही दिन भित्रै मजदुरले पारिश्रमिक पाउने उहाँले बताउनुभयो ।