सामुहिक रुपमा सीप सिक्दै दोबाका महिला (भिडियो सहित)

विकल्प न्यूज/बेनी
पुस ८ गते ।  अन्नपूर्ण गाउँपालिका–१ दोवाका महिलाहरु गाउँमै सीप सिकेर उद्यमी बन्न थालेका छन् । आधारभूत होजियारीको तालिम लिएका महिलाहरुले गाउँमा स्विटर,,गलबन्दी,झोला लगायतका सामाग्रीहरु तयार पार्न थालेका हुन । गाउँमा उत्पादन भएका सामाग्रीहरुको बजार व्यवस्थापन समेत भएपछि महिलाहरु उत्साहित भएका छन् ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) को आर्थिक सहयोगमा संगम तालिम तथा परामर्श केन्द्र प्रा.लिले तालिम प्रदान गरेपछि महिलाहरु उद्यमी बन्न थालेका छन् । सामुहिकमा रुपमा सीप सिकेका उनीहरुले गाउँमै सामाग्री तयार पार्न थालेका छन् । सामुहिक रुपमा समहु गठन गरेर महिलाहरुले आधारभूत होजियारीको तालिम लिएको जिल्ला समन्वय समितिकी सदस्य बोमाया गर्बुजाले बताउनुभयो । तालिम पाएका महिलाहरुले गाउँमा उत्पादन सुरु गरेको जिल्ला समन्वय समिति सदस्य तथा गाउँकी अगुवा महिला गर्बुजाले बताउनुभयो । केही प्राविधिक कमजोरीका कारण तालिम पुरा नभएको बताउँदै उहाँले तालिमलाई पुरा गर्न संगम तालिम केन्द्रले फेरी तालिमको सुरु गरेको बताउनुभयो । तालिममा महिलाहरुले उत्सुकता दिएर सीप सिक्ने गरेको उहाँले बताउनुभयो । फुर्सद मिलाएर दैनिक रुपमा ४ देखि ६ घण्टा सम्म कपडा बुन्ने काम गरेको उहाँले बताउनुभयो ।

महिलाहरुले लालीगुरास लघुउद्यमी महिला समूहले गठन गरेका छन् । सामुहिकमा काम गर्दा सहज हुने महिलाहरुले बताएका छन् । आधरभुत होजियारीको तालिम पाएपछि गलबन्दी,स्विर,टोपी लगायत अन्य सामाग्री बनाउन सिकेको दोबाकी स्थानीय कविता राम्जालीले बताउनुभयो ।

तालिम पुरा गर्न संगमले जनाएको प्रतिबद्धता अनुसार फेरी तालिम सुरु भएको समूहकी अध्यक्ष मनकुमारी गर्बुजाले बताउनुभयो । विभिन्न कारणहरुले गर्दा तालिम पुरा नहुँदै छाड्नु परेको थियो अध्यक्ष गर्बुजाले भन्नुभयो ‘अहिले फेरी तालिम सुरु भएको छ । सक्षम भएपछि मात्र तालिम समापन गर्ने केन्द्रले प्रतिबद्धता जनाएको छ ।’ महिलाहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरणमा समेत संगमले सघाउने भएको छ । 

तालिममा समूहका १७ जना सदस्यहरु सहभागि भएका छन् । केन्द्रका अध्यक्ष दिपक सुवेदीले अधकल्चो तालिमलाई पूर्णता दिने प्रतिवद्धता जनाए अनुसार फेरी तालिम सुरु गरेको बताउनुभयो । बर्खा मौसम र केही प्राविधिक कमजोरीका कारण तालिम पुरा गर्न नसकिएको बताउँदै सुवेदीले दक्ष बनाएर मात्र तालिमको समापन गरिने उहाँले बताउनुभयो ।