कोटखोलाका बाढी पीडितलाई जापानबाट १ लाख ७९ हजार सहयोग

धु्रबसागर शर्मा/विकल्प न्यूज
पुस ७ गते ।
असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीबाट पीडितहरुका लागि मालिका समाज बागलुङ जापान परिवारले रु १ लाख ७९ हजार सहयोग गरेको छ ।

बागलुङ जिल्लाको मालिकाबाट रोजगारी र अध्ययनका लागि जापान गएकाहरुको संस्था मालिका समाज बागलुङ जापान परिवारका प्रतिनिधि भबिन्द्र घिमिरेले सोमवार जापानमा संकलन भएको १ लाख ७९ हजार रुपैयाँ कोटखोला बाढी पीडित राहत संकलन तथा व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजाल (राजु) लाई हस्तान्तरण गर्नुभएको हो ।

बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापा, वडासदस्य चन्द्रबहादुर कुवँर, नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनबहादुर कार्की लगाएत बाढी पीडित र स्थानीयको रोहबरमा रकम हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा प्रतिनिधि घिमिरेले प्रदेशमा रहेपनि आफ्नो गाउँठाउँमा परेको विपत्तिमा अलिकति भएपनि मलहम लगाउन सकिन्छ की भन्ने उद्धेश्यले जापानमा रहेका म्याग्दी र बागलुङका ८९ जना साथीहरुबाट रकम संकलन भएको जानकारी गराउनुभयो । सोही अवसरमा वडाअध्यक्ष थापाले बाढी पीडितहरुलाई व्यवस्थापनका लागि उचित जग्गाको खोजी भैरहेको र छिटै जग्गाको टुंगो लगाई

उनीहरुलाई सुरक्षित ठाउँमा सारिने बताउनुभयो ।गत असोज ४ गते राती कोटखोलामा परम्परागत धार परिवर्तन गरि आएको बाढीले बस्तीमा पसी ७ घर र एक विद्यालयमा पूर्णरुपमा क्षति पुर्याएको थियो । बाढीले क्षति पुर्याएको बुद्ध एकेडेमीको भने अहिले पुननिर्माण सम्पन्न भै नियमित पठनपाठन भैरहेको छ भने बाढी पीडितहरुको व्यवस्थापनका लागि जग्गाको खोजी भैरहेको छ ।