ताजा समाचार:
Search

खुकुरी प्रहारबाट घाइते भएकी शिक्षिका पुनको उपचारमा ९० हजार सहयोग

विकल्प न्यूज/बेनी
पुस ४ गते । गत कार्तिक २७ गते विद्यालय जाने क्रममा खुकुरी प्रहारबाट गम्भिर घाइते हुनुभएकी मालिका गाउँपालिका २ विलबाङकी शिक्षिका इन्द्रा कुमारी पुनको उपचारमा नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिले  ९० हजार ९ सय ६५ रुपैयाँ सहयोग गरेको छ ।

महासंघको पहलमा   गाउँपालिका भित्रका ३६ वटा विद्यालयमा कार्यरत शिक्षिक तथा कर्मचारीबाट संकलन गरिएको सो रकम शुक्रबार शिक्षिका पुनको आफन्तलाई हस्तान्तरण गरिएको हो ।

शिक्षा विकास तथा समन्वय अधिकारी दलबहादुर थापाको रोबरमा शिक्षक महासंघका अध्यक्ष रमन पुन,सहअध्यक्ष प्रदिप पुन,सचिव केदारबहादुर कार्की,सहसचिव सुकबहादुर गर्बुजा र कैलाश मावि दोबाका प्रधानाध्यापक श्रीबहादुर गर्बुजा सहितको टोलीले शिक्षिका पुनको दिदी गौमाया पुनलाई रकम हस्तान्तरण गर्नुभएको छ ।

शिक्षिकाको उपचारमा सहयोग पु¥याउन गाउँपालिका भित्रका विद्यालयहरुमा सहयोग अभियान संचालन गरेर रकम संकलन गरिएको महासंघका अध्यक्ष रमन पुनले बताउनुभयो ।

राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयको प्रधानाध्यापक समेत रहेकी शिक्षिका पुनमाथि स्थानीय रमेश पुन भन्ने युवाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाइते हुनुभएकी पुनको हेलिदकप्टरबाट पोखरा मणिपाल अस्पतालमा पु¥याइएको थियो । शिक्षिका पुनको हाल पोखरामा उपचार भइरहेको छ ।